२०७८ श्रावण २१ , बिहिवार

प्रधानन्यायधीशको प्रश्न : प्रधानमन्त्रीले संसद छलेर सिधै राष्ट्रपतिकहाँ जान मिल्छ ?

Cholendra_Samser_Rana

सुनाखरी न्युज/ काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न संसदमा जाने हो कि सिधै राष्ट्रपतिको कार्यलय जाने हो भनेर प्रश्न गरेका छन् । संसद विघटनविरुद्धको मुद्दामा मंगलबार सरकारको पक्षबाट बहस गर्न आएका नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयलाई प्रधानन्यायाधीश जबराले सो प्रश्न गरेका हुन् ।

 

संवैधानिक इजलास शुरु भए लगत्तै बहसमा उत्रिएका पाण्डेयलाई जबराले प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ? संसदलाई छलेर जान मिल्छ ?’ जवाफमा पाण्डेयले संविधानको धारा ७६ को उपधारा ३ को प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वसको मत प्राप्त गर्ने आधार नदेखेमा राष्ट्रपतिकहाँ गएर मार्गप्रशस्तिको निर्णय सुनाउने र धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया अगाडि बढाउन सिफारिस गर्ने तर्क गरेका थिए । ‘विश्वासको ‘मत पाउँदिन भनेर सरेन्डर गरेपछि फेरि संसदमा जानुपर्दैन, मेरो तर्क यसमा यही हो ।’

 

जेठ ६ गते संविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिन नसक्ने भन्दै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले जेठ ७ गते संविधानको धारा ७६ को उपधारा ५ को प्रधानमन्त्री नियुक्तिका लागि देउवा र ओलीको दाबीलाई अस्वीकार गरी मध्यरातमा मन्त्रिपरिषद्को सिफारीसमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।