२०७८ श्रावण ११ , सोमवार

काठमाडौँ उपत्यकाको निषेधाज्ञाबारे आज निर्णय हुने

Kathmandu

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप्नेबारे आज निर्णय हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञाको मोडालिटी बारे आइतबार छलफल भएपनि ठोस निर्णय आज गर्ने भएका हुन् ।

 

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरेका थिए । अहिलेकै मोडालिटीमा जाने वा अर्को मोडल अपनाउने भन्नेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । सार्वजनिक यातायात खुलाउने सम्बन्धमा पनि प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरेका छन् । ‘सार्वजनिक यातायातको सवालमा हाम्रो छलफल भएको छ’ प्रजिअ पराजुलीले भने– ‘त्यसबारे सोमबार निर्णय लिन्छौं ।’जिल्ला प्रशासन कार्यालय काठमाडौँकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा स्वास्थ्य कार्यालयको राय लिएर निर्णय गर्न सिफारिस गरेको जानकारी दिइन् ।

 

यो साता खुकुलो भएको निषेधाज्ञाले संक्रमणदरमा पारेको प्रभाव अर्को साताबाट मात्रै थाहा हुने भएकाले एकैपटक ह्वात्तै यातायात खुला गर्ने भन्दा पनि जोरबिजोर प्रणालीबाट लैजान तयारी भएको बुझिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । पछिल्लो पटक निजी सवारीका साधनहरु जोरबिजोर र विभिन्न क्षेत्रका पसलहरु बार अनुसार खोल्न मिल्नेगरी निषेधाज्ञा खुकुलो बनाइएको छ ।