२०७८ श्रावण १० , आइतवार

उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी, निर्णय हुन बाँकी

Kathmandu

सुनाखरी न्युज/ काठमाडौं ।

उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ ।

आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सीडीओकै तहबाट टुंग्याइएको स्रोतले बतायो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषयमा टुंगो लगाइनेछ ।

 

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का एक पदाधिकारीले भने, ‘निषेधाज्ञा थप्ने विषयमा सबै एकमत हुनुहुन्छ, सवारीसाधनको विषयमा टुंगो लागेको छैन ।’

ललितपुरको डीसीसीएमसीले भने जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।

प्रशासनले सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहनेछ । खुलास्थानमा धेरै मानिस भेला हुन पाइने छैन ।

सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न दिइनेछैन । शैक्षिक संस्थामा बन्द कायमै रहेछन् ।

खुकुलो गरिएका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड पालना भए, नभएको विषयमा अनुगमनलाई तीव्रता दिइने प्रशासन कार्यालयहरुले बताएका छन् ।