२०७८ श्रावण १० , आइतवार

राप्रपाको गौरवमय इतिहास र विरासतलाई जोगाउन दोस्रो पुस्ताको भूमिका जरुरी : जगत गौचन

Capture

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता जगत प्रसाद गौचनले राप्रपाको इतिहास र विरासतलाई निरन्तर राख्न दोस्रो पुस्ताको सार्थक भूमिका जरुरी भएको बताएका छन ।

 

सामाजिक सञ्जालमा लेख्दै भन्छन गौचन : पार्टीको हर तह र तप्कामा यही माग र बहस जारी छ । समयको मागबाट पछि फर्कने अवस्था छैन । पोखरामा सम्पन्न २०५९ सालको महाधिवेशनमा तत्कालीन पहिलो पुस्ता, संस्थापक अध्यक्षद्वय श्रद्धेय सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले तत्कालीन दोस्रो पुस्तामा सफल र सहज रुपमा नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । नेपालको प्रजातान्त्रिक अभ्यास र राप्रपाको इतिहासमा त्यो परिपक्व नेतृत्व क्षमता, उदारता सुनौलो अक्षरले लेखिएको छ ।

राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको अकाट्य लक्ष्य हो । तर अवसरवाद, आत्मसमर्पणवाद र सत्ता लोलुपताका कारण विघ्न बाधा आइपरेको छ । त्यसैले निष्ठावान, सक्कली पात्र र उर्जाशील दोस्रो पुस्तामा नेतृत्वको जिम्मेवारी सार्नु अपरिहार्य भएको छ । जसको नीति उसैको नेतृत्वलाई व्यवहारमा उतार्न, राजसंस्था र हिन्दुराष्ट्रको लक्ष्य प्राप्त गर्न र राप्रपालाई नयाँ उचाईमा पुर्याउन देशभरीका साथीहरुको सल्लाह र समर्थनमा भार थाम्न म अग्रसर छु । हैन दोस्रो पुस्ताको अरु कोही साथी इच्छुक भए, पूर्ण सहयोग गर्न समेत तयार छु ।