२०७८ जेठ ३० , आइतवार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त

1

सुनाखरी न्युज/ काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

 

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत माग्नुभएको थियो ।उहाँको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको छ । सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाउनुभएको थियो ।

 

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित हुुनुभएको थियो । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्नुभएको थियो । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गर्नुभएको थियो ।