२०७८ जेठ ३० , आइतवार

निषेधाज्ञाको समयलाई ‘शून्य’ समय मानेर सहुलियत दिन यातायात व्यवसायीको सरकारसँग माग

Bus

सुनाखरी न्युज/ काठमाडौं-

यातायात व्यवसायीहरुले निषेधााको समयलाई ‘शून्य’ समय मानेर सहुलियत दिन सरकारसँग माग गरेका छन्। अर्थसचिव शिषिरकुमार ढुंगानासँग भेटवार्ता गर्दै राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारीहरुले निषेधाज्ञाको समयलाई शून्य समय मानेर बैंकको किस्ता तिर्न सहजीकरण गरिदिनुपर्ने माग राखेका हुन्।

‘हामीले बजेटमा भएका व्यवस्थाहरुलाई मौद्रिक नीतिमार्फत समेटेर प्रभावकारी ढंगबाट पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छौँ। यातायात क्षेत्रलाई अति प्रभावित क्षेत्रमा राखेर बीमा प्रिमियम छुट, पुनर्कर्जा लगायत कार्यक्रमहरुलाई कार्यान्वयन गर्न माग गरेका छौँ,’ र्राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने।

अघिल्लो वर्ष पनि यातायात व्यवसायलाई अति प्रभावित व्यवसायको सूचीमा राखेर सोहीअनुसार बजेट व्यवस्था गरिएको तर कार्यान्वयन नभएको भन्दै व्यवसायीहरुले यो पटक सरकारलाई समयमै सचेत गराएका हुन्।

अघिल्लो पटक सरकारले उपलब्ध गराएको पुनर्कर्जा लगायत सुविधा केही ठूला व्यवसायीहरुले मात्रै पाएकाले यो पटक साना व्यवसायीहरुको समस्या पनि सम्बोधन हुनुपर्नेमा उनीहरुको जोड छ।