२०७८ असार १० , बिहिवार

भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यतामा कांग्रेस, यस्तो छ कारण !

सुनाखरी न्युज/ काठमाडौँ —

राष्ट्रिय राजनीति र कोरोना महामारीका कारण मुलुककै पुरानो पार्टी कांग्रेसलाई समयभित्रै महाधिवेशन गराई वैधानिकता जोगाउन सकस परेको छ । आगामी भदौ ७–१० मा केन्द्रीय महाधिवेशनको तिथि तय भएको छ ।

कांग्रेसलाई  एकातिर पार्टीको वैधानिकता जोगाउनुपर्ने बाध्यता छ, अर्कोतर्फ त्यतिन्जेल कोरोना महामारी पूरै हट्ने संकेत देखिएको छैन । कोरोना महामारीका बीचमा पनि महाधिवेशन गराउन सकिने विभिन्न विकल्प छन् तर पार्टीको नेतृत्व पंक्ति यस्तो विकल्पतिर छलफल गर्नुभन्दा परम्परागत शैली र ढर्रामै महाधिवेशन गराउने चाहनामा छ ।

महाधिवेशनको तयारीका लागि खटिनुपर्ने सभापति शेरबहादुर देउवा राष्ट्रिय राजनीतिको गोलचक्करमा परेका छन् । प्रधानमन्त्री केपी ओलीले जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित छ । एउटा ध्रुवमा प्रधानमन्त्री केपी ओली छन् भने अर्कोमा पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धन छ, जसको नेतृत्वमा देउवा छन् ।

ओली सत्ताको लामो कालखण्डमा सहयोगी बनेका देउवा दोस्रोपटक प्रतिनिधिसभा विघटनपछि भने खरो विरोधमा उत्रिएका छन् । संविधानको धारा ७६ ९५० अनुसार बहुमत सांसदको समर्थनमा उनले गरेको प्रधानमन्त्री दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीसँगको मिलेमतोमा अस्वीकृत गरेको भन्दै देउवा चिढिएका छन् । देउवासहित तत्कालीन प्रतिनिधिसभाका बहुमत सदस्यले अदालतमा दर्ता गराएको रिटको अहिले सुनुवाइ चलिरहेको छ ।

अदालतले मागदाबीअनुसारकै फैसला दिएमा देउवाका लागि आगामी महाधिवेशन झनै अनुकूल बन्ने देखिन्छ । प्रधानमन्त्री भएर महाधिवेशनमा जाँदा सहजै सभापति दोहोर्‍याउन सकिने विश्लेषण उनले गरिरहेका छन् तर राष्ट्रिय राजनीतिमा कतिबेला कस्तो मोड आउँछ भन्न सकिने अवस्था छैन ।

महाधिवेशनमा ढिलाइ हुँदै जानुमा क्रियाशील सदस्यताको विवाद मुख्य कारण हो । एक वर्षअघिदेखि सदस्यताको वितरण र नवीकरणको काम थालिए पनि यसको टुंगो अझै लागेको छैन । पार्टीको केन्द्रीय नेतृत्व चयनसम्म नै यसले प्रभाव पार्ने भएकाले सदस्यता वितरणमै विवाद र बखेडाबाजी हुने गर्छन् । हरेकजसो महाधिवेशनमा संस्थापन पक्षसँग इतरपक्षको आशंका देखिन्छ । खासगरी नयाँ सदस्यता वितरणमा विवाद बढी हुने गर्छ । १४ औं महाधिवेशनका लागि शतप्रतिशत नयाँ सदस्यता बढाउने नीति पार्टीले बनाएको थियो । यसै कारण लामो समय सदस्यता वितरणको झमेलामा अल्झिँदै आउँदा अहिले समयमै महाधिवेशन नहुने जोखिम बढेको छ ।