२०७८ असार १० , बिहिवार

पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत र कारवाही गर्न शिक्षामन्त्रीको निर्देशन

Capture

सुनाखरी न्युज/ काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन्।

 

पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदको आज सम्पन्न ८८ औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए। उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन्। प्रकाशक र बिक्रेताले पुरानो किताबको कभर परिवर्तन गरी पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन्।

 

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखेर नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए। उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताउदै त्यस्तामाथि कडा कारबाही गर्नुपर्ने बताए।