२०७८ असार ६ , आइतवार

अब इजलास गठन सम्बन्धमा कुनै पनि विषय सुन्दैनौँ: न्यायाधीश खतिवडा

SC

सुनाखरी न्युज/ काठमाडौँ –

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलास गठनका सम्बन्धमा अब उपरान्त कुनै पनि विवाद वा बहस नसुनिने बताएका छन्। संसद विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीश खतिवडाले बुधबारको इजलास सुरु हुनु पूर्व भने, ‘प्रधानन्यायाधीश (चोलेन्द्र शमशेर जबरा) सहित हामी चारजना न्यायाधीश एउटै डुंगामा छौँ। हामीलाई संसद विघटन सम्बन्धी विवादको निरुपण गर्नु पर्ने दायित्व आइलागेको छ। यहि इजलासले टुंग्याउँछ। इजलास गठन सम्बन्धमा अब कुनै पनि विषय सुन्दैनौँ, नउठाउनु होला। हिजो अस्तिको जस्तो विवाद हुँदैन। त्यसलाई बिर्सन चाहन्छौँ।’

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।