२०७८ असार १० , बिहिवार

०७५ जेठ २ मा कायम रहेको एमाले स्थायी कमिटी बैठक बोलाएर छलफल गर्न वामदेव गौतमको प्रस्ताव

Bamdev

सुनाखरी न्युज/ काठमाडौँ —

एमाले उपाध्यक्ष वामदेव गौतम समूहले २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटीको बैठक बोलाएर पार्टीका समस्या समाधान गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकताको आह्वान गर्दै आइतबार ६ बुँदे प्रस्ताव अगाडि सारेपछि गौतम संयोजक रहेको एकता अभियान समितिका सदस्यको बैठक सोमबार बसेको थियो । उक्त बैठकपछि गौतमले मंगलबार जारी गरेको विज्ञप्तिमा जेठ २ मा कायम रहेको स्थायी कमिटी बोलाएर छलफल गर्न आग्रह गरेका हुन् । ओलीले एकताका लागि इमान्दार प्रयत्न नगरेको ठहर गौतमले समूहले गरेको छ ।

‘छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा (एमाले) को दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी ओलीसमक्ष हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।