२०७८ असार २ , बुधवार

चीनले दियो ३ वर्षमाथिका बालबालिकालाई कोरोना खोप लगाउन अनुमति

Corona

सुनाखरी न्युज/ बेइजिङ । चीनले तीन वर्षमाथिका बालबालिकामा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकका अनुसार तीन वर्षदेखि माथिका बालबालिकामा कोरोना खोपको प्रयोग गर्न त्यहाँको स्वास्थ्य विभागले अनुमति दिएको हो ।

कोरोनाको तेस्रो लहरले बालबालिका सबैभन्दा धेरै जोखिममा पर्ने प्रक्षेपण भइरहेका बेला चीनले गरेको यो निर्णयले केही आशाको सञ्चार गराएको छ ।

अहिलेसम्म प्रयोगमा रहेका १५ वटा खोपहरु सबैजसो १८ वर्षभन्दा माथिका वयस्कका लागि लगाइएको थियो । केही मुलुकहरुले १३ वर्षदेखि १८ वर्षसम्मका लागि खोप लगाउन अनुमति दिए पनि यति कम उमेरका बालबालिकामा खोप लगाउन अनुमति दिने चीन पहिलो मुलुक हो ।

 

चीन सरकारले कहिलेदेखि बालबालिकालाई खोप लगाउन सुरु गर्छ भन्ने यकिन भइनसकेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।