२०७८ असार १ , मंगलबार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज नहुने, यस्तो छ कारण !

Suprime Court#

सुनाखरी न्युज/ काठमाडौँ —
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ  सर्वोच्च अदालतको संवैधानिक इजलासमा सोमबार नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आजको पेसी सूचीमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा तोकेका छैनन् ।

सोमबारका लागि हेर्दाहेर्दैमा राखिएका निवेदन स्थगित पेसी सूचीमा चढाइएको छ । आइतबारको बहसपछि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

संवैधानिक इजलासको आइतबारको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस केन्द्रित थियो । बहसमा महान्यायाधिवक्ता रमेश बडाल, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट आएका कानुन व्यवसायीले न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने बताएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिट लिएर सर्वोच्च गएका शेरबहादुर देउवासहित १ सय ४६ सांसद पक्षका कानुन व्यवसायीले भने वरिष्ठताका आधारमा इजलास गठन गरिएकाले अब इजलासबारे नभई निवेदनमाथि बहस हुनुपर्ने माग गरेका थिए ।