२०७८ असार ८ , मंगलबार

ओलीको आह्वानको अर्थ नभएको एमाले नेपाल खनल पक्षको प्रतिक्रिया

Nepal Khanal

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वानलाई माधव नेपाल पक्षले अर्थ नभएकोबताएका छन् ।  प्रारम्भिक प्रतिक्रिया दिंदै नेताहरुले ओलीको आह्वान जालझेलपूर्ण रहेको बताएका छन् ।

यसबारे औपचारिक धारणा भने सोमबार बस्ने स्थायी कमिटीको बैठकबाट सार्वजनिक गर्ने माधव नेपाल पक्षका नेताहरुको तयारी छ । एमाले माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले भने, ‘आज १० बजे स्थायी कमिटीका साथीहरुसँग छलफल गर्छौं र औपचारिक धारणा बनाउँछौं ।’

अध्यक्ष ओलीले आइतबार राति विभिन्न सर्तसहित एकताका लागि आह्वान गरेका थिए । सो आह्वान पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिट फिर्ता लिनुपर्ने लगायतका बुँदा छन् । तर ओलीले संसद विघटन गलत थियो भनेर स्वीकार नगरेकोप्रति नेपाल पक्ष रुष्ट छ ।

एक नेताले भने, ‘ओलीको पत्रको केही अर्थ छैन । संसद विघटनमा उहाँले आत्मालोचना पनि गर्नु भएको छैन । मुद्दा फिर्ता लिने कुरै हुँदैन ।’  नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले सामाजिक सन्जालमार्फत् आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै ओलीको आह्वान झुक्याउन, अलमलाउन र मिडिया खपतको लागि हो भनेर बुझ्नुपर्ने बताएकी छन् । पार्टी एकता हुन नदिने डिजाइनका साथ ओलीको वक्तव्य आएको भन्दै उनले यसप्रति भ्रममा नपर्न अनुरोध गरेकी छन् ।