२०७८ जेठ ३० , आइतवार

कार्यपालिकाले न्यायपालिकामा अवरोध गर्न पाउँदैन

1

सुनाखरी न्युज/ काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले कार्यापालिकाले न्यायपालिका विघटन गर्न खोजेको आरोप लगाएका छन् ।उनले संविधान करिब–करिब ध्वस्त भएको भन्दै यसलाई न्यायपालिकाले बचाउनुपर्ने बताएका छन् ।

 

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बहस गर्दै भट्टराईले कार्यपालिकाले न्यायमा अवरोध गर्न नपाउने पनि स्पष्ट गरे । ‘न्यायपालिका र संविधानलाई जहाँ लान खोजिँदै छ, अहिले त्यो पूर्वाभ्यास हुँदैछ’, उनले भने, ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि संविधान बचाउन यस्ता धम्कीलाई पार लगाउन यो अदालतसँग क्षमता छ । न्यायालयले त्यो क्षमता गुमाएको छैन ।’

 

उनले पञ्चायत र राजाको पालामा हुन नसकेको हुर्मत गणतन्त्रमा कार्यपालिकाबाट हुन्छ भनेर न्यायपालिका टुलुटुलु हेरेर बस्न नहुने पनि बताए । भट्टराईले सरकारले अदालती प्रक्रिया र आदेशबारे टिप्पणी गर्न नपाउने जिकिर गरे ।