२०७८ असार १० , बिहिवार

सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसूर होः प्रधानन्यायाधीश जबरा

chholendra-samsher-rana

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासका सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसूर हुने बताएका छन् । संवैधानिक इजलासको रोस्टरमा रहेका ११ जना न्यायाधीशले संसद विघटनको मुद्दा हेर्न मिल्दैन भनी सरकार पक्षका वकिलले निवेदन नै दिएपछि प्रधानन्यायाधीश जबराले मानहानीको मुद्दामा कारबाही गर्ने चेतावनी दिएका थिए ।

 

महान्यायाधिवक्ता रमेश बडालसहित सरकार पक्षका वकिलहरुले प्रधानन्यायाधीशको उक्त भनाइको प्रतिवाद गरेका थिए । रिट निवेदकले न्यायाधीशमाथि प्रश्न उठाउँदा न्यायाधीश फेरिएको भन्दै आफूहरुलाई कारबाही गर्ने धम्की दिनु जायज नभएको सरकार पक्षका वकिलहरुले तर्क गरे ।

अधिवक्ता परशुराम कोइरालाले जेठ १४ गते गठन गरिएको संवैधानिक इजलासमाथि रिट निवेदकले जे प्रश्न उठाएका थिए आफूहरुले पनि त्यही प्रश्न उठाएको बताए । जवाफमा प्रधानन्यायाधीश जबराले न्याय परिषद ऐन अनुसार सबै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भन्नु कसुर हुने बताए । ‘न्याय परिषद ऐन हेर्नुहोस् । सबै न्यायाधीशले हेर्न मिल्दैन भन्नु कसूर हो । त्यसैले मैले अपहेलना सम्झाएको हुँ’ उनले भने ।

संसद विघटनको मुद्दा सुनुवाइका लागि गत जेठ १४ गते प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको इजलास गठन गरेका थिए ।

न्यायाधीशहरु केसी र श्रेष्ठमाथि रिट निवेदक पक्षले प्रश्न उठाएपछि न्यायाधीश जबराले आइतबार आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको इजलास गठन गरेका छन् ।