२०७८ असार २ , बुधवार

लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन सुरू, मुख्यमन्त्रीको राजीनामा माग

Capture

सुनाखरी न्युज/ काठमाडौं-
लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन बुधबारदेखि शुरू भएको छ। विपक्षी सांसदले अधिवेशनको पहिलो दिनमुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन्। मुख्यमन्त्री पोखरेलले प्रदेशसभाप्रति विश्वासघात र छलछाम गरि पुनः मुख्यमन्त्री पदमा सपथ लिएको भन्दै उनीहरूले राजीनामाको माग गरेका हुन् ।

सभामुख पूर्णबहादुर घर्तीले  बैठकको शुरूमै प्रदेश प्रमुख धर्मनाथ यादवले पठाएको बजेट अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका प्रमुख सचेतक फकरउद्धिन खानले मुख्यमन्त्रीले अवैधानिक रूपमा सरकार गठन गरेकोले नैतिकताको आधारमा तत्काल राजीनामा दिन आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गरेको बताए पनि अहिले उपधारा २ बमोजिमको सरकार बनेको जिकिर गरे। उनले सरकार वैधानिक रूपमै अल्पमतमा परेकोले नैतिकताको आधारमा राजीनामा दिनुको बिकल्प नहुने बताए।

जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यावदले मुख्यमन्त्री पोखरेलले आफ्नो सरकार टिकाईराख्न आफ्नो दललाई समेत फुटाउने काम गरेको आरोप लगाए।

बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलले प्रदेशप्रमुखलाई बोरामा हालेर मुख्यमन्त्री कार्यालयमै बोकेर लगि सपथ लिएकोप्रति आपत्ती जनाए।

प्रदेशसभाका बहुमत सदस्य अर्कोतर्फ हुँदाहुँदै रातारात सपथग्रहण गरेको उल्लेख गर्दै उनले झुट, जालझेल र षडयन्त्र गरेर गठन गरिएको सरकार वैधानिक हुनै नसक्ने दाबी गरे।