२०७८ जेठ ३० , आइतवार

सरकारले भन्यो: कोभिसिल्डको दोस्रो डोज खोप तत्काल लगाउन सकिन्‍न

Coronavirus.

सुनाखरी न्युज/ काठमाडौँ —

सरकारले  कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड तत्काल उपलब्ध गराउन नसकिने जानकारी गराएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अपडेटमा बोल्दै मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले आइतबार कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताए ।

फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्काल दोस्रो डोज लगाउने मिति नजिकिए पनि नपाउने भएका हुन् । विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ । तर विभिन्न प्रयास गर्दासमेत उपलब्ध हुन नसक्ने डा पोखरेलले बताए । स्वास्थ्य मन्त्रालयले खोपका लागि कूटनीतिक पहल गरेको र खरिदका लागि कम्पनीहरुसँग सम्पर्क गरिरहेको बताउँदै पोखरेलले कोभिसिल्ड खोपको विकल्पमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोप प्राप्त गर्ने विषयमा दाताहरुसँग छलफल गरेको जनाए ।

नेपाल सरकारले विश्व स्वास्थ्य संगठनले सिफारिस गरेका र कोभ्याक्सबाट उपलब्ध हुने अन्य खोपहरुको विकल्पको बारेमा दाताहरुलाई, विशेष गरेर कोभ्याक्स फ्यासिलिटीलाई करिब साढे १३ लाख नागरिकलाई दोस्रो मात्रा लगाउन कुनै पनि अवस्थामा कोभिसिल्ड, एस्ट्राजेनिका वा एस्केबायो एउटै प्रकृतिको खोप उपलब्ध गराउन पहल गरिरहेको उनले बताए । यसका लागि सकारात्मक जवाफ आए पनि प्राप्त हुने यकिन मितिबारे जानकारी नआएको बताउँदै डा पोखरेलले खोप प्राप्त हुनेबित्तिकै १२ हप्ता कटे पनि पहिलो मात्रा लगाएकालाई खोपको दोस्रो मात्रा लगाउने तयारी गरिरहेको उनको भनाइ छ ।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले अक्सफोर्ड एस्ट्राजेनिका कम्पनीले बनाएको खोप विभिन्न देशमा विभिन्न नाममा बनेकाले सोही प्रकृतिको खोप लगाउँदा फरक नपर्ने बताउँछन् । सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोभिसिल्ड खोप लगाउन सुरु गरेसँग १४ जिल्लामा पनि ५५ वर्षका माथिका व्यक्तिलाई खोप लगाउन थालेको थियो ।