२०७८ असार १ , मंगलबार

बालबालिकामा संक्रमण बढ्दो

Corona

काठमाडौँ — बालबालिकामा  कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दरबढ्दै गएको छ । राष्ट्रिय बालअधिकार परिषद्का अनुसार अघिल्लो कोरोना लहरमा कुल संक्रमितमध्ये बालबालिका ७ प्रतिशत हाराहारी रहेकामा पछिल्लो कोरोना लहरमा औसत १० प्रतिशत छन् ।

बिहीबार पुष्टि भएका कुल संक्रमितमध्ये ८ दशमलव ७३ प्रतिशत अर्थात् ६ सय ६ जना संक्रमित १८ वर्षभन्दा मुनिका छन् । बुधबार पुष्टि भएका कुल संक्रमितमा १८ वर्षमुनिका बालबालिकाको संख्या ८ दशमलव ४ प्रतिशत छ । यो संख्या मंगलबार १०।३८ प्रतिशत थियो ।

 

परिषद्का अनुसार पछिल्ला दिनमा नयाँ संक्रमित बालबालिकाको संख्या ५ सयभन्दा धेरै हुने गरेको छ । बुधबार पुष्टि भएका ६ हजार ७ सय १४ संक्रमितमध्ये ५ सय ४० बालबालिका थिए । मंगलबार ६ हजार ४ सय ४ जनामा संक्रमण पुष्टि हुँदा बालबालिकाको संख्या ६ सय ६५ थियो ।

कोरोना संक्रमणको चपेटामा ११ देखि १८ वर्षसम्मका बालबालिका बढी देखिन्छन् । कोरोना संक्रमणको मारमा ५ वर्षमुनिका बालबालिका पनि परिरहेका छन् । बिहीबार ५ वर्षमुनिका मात्रै ४० बालक र ३३ बालिका संक्रमित भए । यो संख्या कुल संक्रमित बालबालिकाको १२ प्रतिशत हो । बुधबार कुल संक्रमित बालबालिकामध्ये ५ वर्षमुनिका ३५ बालक र २५ बालिका थिए । यो संख्या कुल संक्रमित बालबालिकाको ११ प्रतिशत हो ।

बिहीबार ६ देखि १० वर्षसम्म उमेरका ९४ बालक र ४६ बालिकाका साथै ११ देखि १८ वर्षसम्म उमेरका २ सय ३८ बालक र १ सय ५५ बालिका संक्रमित भएका छन् । बुधबार भने ६ देखि १० वर्षसम्मका ७५ बालक र ५० बालिका र ११ देखि १८ वर्षसम्मका २ सय ८ बालक र १ सय ४७ बालिका संक्रमित भए । बालबालिकासम्बन्धी ऐनले १८ वर्ष पूरा नगरेकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।

 

परिषद्का अनुसार जेठ २ देखि ७ गतेसम्ममा मात्रै ५ हजार ६ सय ९५ बालबालिका संक्रमित भएका थिए । यसले दिनमा औसत ९ सयभन्दा धेरै बालबालिका संक्रमित हुने गरेको देखाउँछ । संक्रमणको दर सबैभन्दा धेरै वाग्मती प्रदेशमा छ । बुधबार संक्रमण भएका बालबालिकामध्ये वाग्मतीका २ सय २३ जना अर्थात् कुल संक्रमितमध्ये ४१ प्रतिशत छन् । त्यस्तै प्रदेश १ का ८३, प्रदेश २ का २९, गण्डकीका १ सय ३, लुम्बिनीका ५६, कर्णालीका २२ र सुदूरपश्चिमका २१ जनामा त्यस दिन संक्रमण देखिएको थियो ।

परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलका अनुसार परिवारका सबै सदस्य संक्रमित हुने दर बढेसँगै बालबालिकामा संक्रमण देखिएको हो ।  चिकित्सकहरूले बालबालिकामा हुने संक्रण घटाउन घर बाहिर निस्कने व्यक्तिले उनीहरूसँग घुलमिल कम गर्नुपर्ने सुझाव दिँदै आएका छन् ।

बालगृहमा आश्रित संक्रमित

परिवारको संरक्षणमा रहेका बालबालिकाका अलावा अनाथ वा संरक्षणविहीन भएर विभिन्न बाल आश्रममा रहेका बालबालिका पनि संक्रमणको जोखिममा पर्न थालेका छन् । राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार बिहीबारसम्म १७ बाल गृहमा आश्रित १ सय ८४ बालबालिका संक्रमित भएका छन् ।

बाल मन्दिर पनि भनिने नेपाल बाल संगठनको नक्साल र सिफलमा रहेको बाल आश्रममा आश्रित ४९ जना बालबालिका संक्रमित भइसकेका छन् । सिफलस्थित बाल गृहमा ७० जनाको परीक्षण गर्दा ३६ जनामा पोजिटिभ देखिएको थियो भने नक्सालमा ४९ जनाको परीक्षण गर्दा २१ जना पोजिटिभ देखिएका थिए । नेपाल बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सिफलस्थित आश्रमका सबै संक्रमित बालबालिकालाई कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान केन्द्रमा लगेर राखिएको जानकारी दिइन् ।

परिषद्का अनुसार काठमाडौंमा रहेका ८ बालगृहका १ सय ५१ बालबालिका संक्रमित भएका छन् । त्यस्तै ललितपुरका ३ बालगृहका २४, रूपन्देहीको एउटा बालगृहका १, कपिलवस्तुको एउटा बालगृहका २, पाल्पाको एउटा बालगृहका १, काभ्रेको एउटा बालगृहका १५ बालबालिका र कास्कीका २ वटा बालगृहका ९ बालबालिका संक्रमित भएक कान्तिपुर दैनिकमा उल्लेख छ ।