२०७८ असार १० , बिहिवार

संविधान र संसद्को रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन तयार छुः सभामुखले सापकोटा

सुनाखरी न्युज/ काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले आफू संवैधानिक रूपमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनपछि सभामुखको भूमिकाका विषयमा कानुनविदहरूसँग गरेको अन्तरक्रियापछि सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

उनले लोकतन्त्रमा दलको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै उनीहरूको छलफल पछि सभामुखको भूमिकामा उठाउन मिल्ने र उठाउन सकिने कदम चाल्ने बताए ।

“कानुनविदहरूसँगको परामर्शपछि म केही उत्साहित भएको छु । संविधान र संसद्को रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन र कदम चाल्न म तयार छु,” सापकोटाले भने, “निरन्तरको अन्तरक्रिया र नागरिकस्तरका सुझावपछि हामी एउटा निष्कर्षमा पुग्नैपर्ने छ । म अन्तमा परामर्श र छलफल दलहरूसँग नै गर्नेछु ।”

संसद्ले नै राष्ट्रपति र प्रधानमन्त्री जन्माउने भन्दै उनीहरूबाटै संसद्माथिको अवमूल्यन स्वीकार्य नहुने बताए ।भूमिका सबैको फेरिदै जाने भन्दै उनले भोलिका दिनले सबैको भूमिका पनि तय हुने बताए ।

उनले आफूले  सदन फरक रूपमा चलाउन खोज्दाखोज्दै हठात् संसद् विघटन भएको भन्दै बजेट अधिवेशन तथा विधेयक अघि बढाउने विषय पनि रोकिन पुगेको बताए ।

उनले विज्ञप्ति जारी गरेर धारणा राखिसकेको भन्दै अदालतको अपहेलना र संसद्को अधिकार खोस्ने काम स्वीकार्य नहुने बताए ।