२०७८ असार १० , बिहिवार

निषेधाज्ञामा खाद्यान्न अभाव भए यी नम्बरमा फोन गर्नुहोस्

सुनाखरी न्युज/ काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञामा कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । काठमाडौं प्रशासनले बिहिबार एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधिमा कोही कसैलाई खाद्य वस्तुको अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको जनाएको हो ।

 

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको प्रशासनले जारी गरेको सूचनामा भनिएको छ । प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ ।

 

खाद्य वस्तु मगाउन नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९८५१३२०३१४, ९८५११३६७८५, ९८५११२१७८८ मा फोन गर्न सकिन्छ भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ९८५१०२२५६४, ९८५१०३३३०३, ९८५१११३६६०, ९८४१३३२९९० र ९८१३२७२५६३ मा फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।