२०७८ असार १ , मंगलबार

संसद विघटनविरुद्धको रिटको सुनुवाई प्रधानन्यायाधीशको एकल इजलासमा

सुनाखरी न्युज/ काठमाडौँ – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा सुनुवाई हुने भएको छ ।

 

प्रतिनिधिसभा विघटनकै विषयलाई लिएर दर्ता भएका ३० रिट निवेदन मध्ये अन्तरिम आदेश माग गरिएका १९ रिटको सुनुवाईका लागि आज प्रधानन्यायाधीश राणाको एकल इजलास तोकिएको हो । त्यस्तै बाँकी ११ रिटको सुनुवाई भने संवैधानिक इजलासका लागि तोकिएको मुद्दा शुक्रबारदेखि सुनुवाइ हुने छ । सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार रिट निवेदन दर्ता भएका छन् ।

 

त्यस्तै निवर्तमान प्रतिनिधिसभा १४६ सदस्यसहितका रिट निवेदनले संसद् पुनःस्थापना गर्नुपर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । त्यसैगरि प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गरेका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग राखी अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चार रिट निवेदन सोमबार दर्ता गराएका हुन् ।