२०७८ असार १ , मंगलबार

रेल कर्मचारीले गोली चलाउँदा अमेरिकाको क्यालिफोर्नियामा  ९ को मृत्यु

सुनाखरी न्युज/ काठमाडौं-

 

अमेरिकाको क्यालिफोर्नियाको स्यान होजेस्थित रेल यार्डका कर्मचारीले गोली चलाउँदा ९ जनाको ज्यान गएको छ ।  मृत्यु हुनेमा त्यहाँका कर्मचारी र गोली हान्ने व्यक्ति पनि रहेका छन् ।

 

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार बुधबार बिहान स्यान होजेस्थित सान्टा क्लारा भ्याली ट्रान्सपोर्ट अथोरिटीका कर्मचारीले अन्धाधुन्ध गोली चलाएका हुन् । प्रहरीका अनुसार ती कर्मचारीले गोली चलाउनुभन्दा अगाडि आफ्नो घरमा आगोसमेत लगाएका थिए । सीबीएसका अनुसार रेल कर्मचारीको बैठक चलिरहेका बेला गोली चलाइएको हो ।

सीबीएसका अनुसार ती बन्दुकधारीको पहिचान ५७ वर्षीय स्यामुएल कसिडीका रुपमा खुलेको छ । स्थानीय सञ्चारमाध्यमले उनले कर्मचारीहरुमा गोली चलाएपछि आफैलाई गोली हानेर आत्महत्या गरेको बताएका छन् । तर प्रहरी अधिकारीले भने यसको आधिकारिक रुपमा पुष्टि गरेका छैनन् ।

पछिल्लो समय अमेरिकामा गोलीबारीका घटना बढिरहेका छन् । गन भ्वाइलेन्स अर्काइभका अनुसार अमेरिकामा गोलीकाण्डका २३० घटना भइसकेका छन् ।