२०७८ असार १० , बिहिवार

पोखरामा पत्रकार गणेश पौडेलको सम्झना

सुनाखरी न्युज/  पोखरा – कोरोना संक्रमणका कारण निधन भएका पत्रकार जगन्नाथ पौडेल (गणेश) को स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । पौडेलको निधन भएको १३औं दिनको पूण्य तिथिका दिन नेपाल पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।

 

श्रद्धाञ्जली सभामा अग्रज पत्रकार एवं पत्रकारका नेताहरुले गणेश पौडेल अत्यन्तै मिलनसार र सहहृदयी मित्र भएको भन्दै स्मरण गरे । उनीहरुले शुत्रलाई पनि मित्रवत व्यवहार गर्ने पौडेलको निधनले पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता पगेनी तिमिल्सिनाले पत्रकार गणेश पौडेलका परिवारका सदस्यलाई रोजगारीमा लगाउन महासंघले पहल गर्नुपर्नेमा जोड दिंदै आफूले पनि यस्ता कार्यमा सघाउने प्रतिवद्धता जनाइन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले कोभिडको बहानामा कुनै पनि मिडिया हाउसले पत्रकार निष्काशन गर्न नहुने भन्दै यस्तो गरेको पाइएमा पत्रकार महासंघ चुप लागेर नबस्ने चेतावनी दिए । पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले टेलिभिजन पत्रकारिता जगतमा उदाउँदो व्यक्तित्व पौडेलको निधनले कहीं न कही अभाव महसूस हुने बताइन् ।

 

उनले पौडेलको परिवारजनलाई आवश्यक परेको सहयोग गर्न महासंघ प्रतिवद्ध रहेको स्पष्ट पारिन् । महासंघ प्रत्येक पत्रकारको साथमै रहेको र हरेक दुःखमा साथ दिने भन्दै अध्यक्ष भण्डारीले कोभिड खोप लगाउन बाँकी रहेका पत्रकारलाई तत्काल खोपको व्यवस्था गर्न माग गरिन् । साथै उनले कोरोना महामारीमा अत्यन्तै जिम्मेवार र सजग भएर खटिन आग्रह गरिन् । महासंघका पूर्व अध्यक्ष नारायण कार्कीले सहयोद्धा पौडेलको निधनले सिंगो पत्रकार जगत स्तव्ध भएको भन्दै उनलाई बिर्सन निकै गाह्रो पर्ने बताए । कोरोनाको दोश्रो लहर निकै खतरनाक र घातक रहेको भन्दै कार्कीले जोगिएर काम गर्न आग्रह गरे । उनले कोरोना संक्रमणले छोइहालेमा कत्तिपनि नआत्तिन, पोषिलो, झोलिलो पद्धार्थ खान र पुदिनाको पात धेरै भन्दा धेरै प्रयोग गर्न पनि आग्रह गरे ।

 

कोभिड भएका व्यक्तिले खानेकुरामा नै धेरै भन्दा धेरै ध्यान दिनुपर्नेमा कार्कीले जोड दिए । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस संगठनका अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार अपिल त्रिपाठी, महासंघका सचिव माधव बरालले गणेश पौडेलको निधनले सिंगो पत्रकारिता जगत नै स्तव्ध भएको बताए । महासंघका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पौडेलको वैशाख ३० गते निधन भएको थियो । पोखरा ३३, बागमारा निवासी ४० वर्षीय पौडेल डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय थिए । उनका श्रीमती र दुई छोरा छन् ।

 

 

देशभर १६ जना पत्रकारको निधन

नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १६ जना पत्रकारको निधन भएको छ । यस्तै, ८५० जना पत्रकार संक्रमित भएको महासंघका केन्द्रीय सदस्य सरिता पगेनी तिमिल्सिनाले जानकारी दिइन् ।उनले पत्रकार महासंघले कोरोना संक्रमणबाट निधन भएका प्रत्येक पत्रकारका परिवारलाई ३० हजार रुपैयाँ उपलव्ध गराउने निर्णय भएको जानकारी दिइन् । यस्तै, गण्डकीमा कोरोना संक्रमणका कारण दुई जना पत्रकारको निधन भएको छ । गण्डकीमा हालसम्म १०९ जना पत्रकार संक्रमित भएको र अधिकांश निको भइसकेको महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये हाल सात जना सक्रिय अवस्थामा छन् । उनीहरु होम आइसोलेशनमै रहेका छन् ।