२०७८ असार ७ , सोमवार

उपत्यकाका तीनैवटा जिल्लाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञामा कडाइ गर्ने तयारी

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक मंगलबार बस्दैछ । पूर्वनिर्धारित निषेधाज्ञाको समय सकिन दुईदिन बाँकी हुँदा निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न बैठक बस्ने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

अब थप गरिने निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा समेत मंगलबारको बैठकबाट निर्णय हुन सक्ने बताइएको छ । नयाँ अध्यादेशमा उल्लेखित व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्दा एक सातामा महामारीको चेनब्रेक हुन सक्ने आकलन प्रजिअहरुको छ ।

 

‘अबको एक साता प्रभावकारी रुपमा निषेधाज्ञा गर्दा कोरोनाको चेन ब्रेक हुन्छ कि भन्ने लागेको छ, पराजुलीले भने ‘अबको निषेधाज्ञामा नयाँ अध्यादेशमा उल्लेखित व्यवस्थालाई कसरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयमा मंगलबारको बैठकमा छलफल हुनेछ ।’

नयाँ अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था गरेको छ ।