२०७८ असार १० , बिहिवार

विश्वमा कोरोना नियन्त्रण तर्फ : पछिल्लो २४ घण्टामा ४ लाख ६४ हजार संक्रमित, करिव ६ लाख निको

Corona

सुनाखरी न्युज/ काठमाडौं – विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा केही हदसम्म सफलता मिल्दै गइरहेको छ । कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकालाई अहिलेसम्म आइपुग्दा ठूलै सफलता मिलिरहेको छ ।

 

विश्वमा दैनिक सात लाखभन्दा बढी सङ्क्रमित भेटिने गरेका थिए । दैनिक १२ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भइरहेको थियो । तर केही दिनयता सङ्क्रमण र मृत्यु दर घट्दो क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा विश्वमा चार लाख ६४ हजार छ सय ४२ जनामा सङ्क्रमण यकिन भयो । सङ्क्रमित सङ्ख्या १६ करोड ७५ लाख दुई हजार छ सय २१ पुगेको छ । विश्वमा कोरोनामुक्त हुनेको सङ्ख्या पनि बढ्दै छ । जम्मा सङ्क्रमितको तुलनामा उपचाररतको अवस्था थोरै छ । गम्भीर अवस्थाका सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ८५ लाख ४७ हजार आठ सय ९३ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ५४ लाख ७७ हजार एक सय ३५ जनाको उपचार भइरहेकोमा ९६ हजार नौ सय ९२ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा ५ लाख ९९ हजार ६९९ जना निको भएका छन् । विश्वमा पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ७० सङ्क्रमितको मृत्यु भयो ।

 

यसअघि दैनिक १२ हजारभन्दा बढीको मृत्यु हुने गरेकोमा त्यो सङ्ख्या क्रमस घट्दै गइरहेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ३४ लाख ७७ हजार पाँच सय ९३ जनाको मृत्यु भइसकेको छ । अमेरिका विश्वमा अहिलेसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । तर पछिल्लो समय कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरिरहेको छ । दैनिक अमेरिकामा ५० हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका थिए । दुई हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको थियो । पछिल्लो २४ घण्टामा १२ हजार नौ सय ३२ जनामा मात्रै सङ्क्रमण पुष्टि भयो । यो सङ्ख्या यसअघि भेटिन सङ्क्रमितको भन्दा निक्कै कम हो । सङ्क्रमित सङ्ख्या तीन करोड ३८ लाख ९५ हजार छ सय ५९ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७५ लाख एक हजार तीन सय ७८ जना उपचारपछि निको भएका छन् । ५७ लाख ९० हजार दुई सय एक जनाको उपचार भइरहेकोमा छ हजार नौ सय ८६ अमेरिकी नागरिकको अवस्था चिन्ताजनक छ । अमेरिकामा एकै दिन दुई सय २० सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या यसअघि मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । अमेरिकामा हालसम्म कोरोनाका कारण छ लाख चार हजार ८० जनाको मृत्यु भइसकेको छ ।

 

छिमेकी मुलुक भारतमा एकै दिन दुई लाख २२ हजार आठ सय ३५ जनामा कोरोना यकिन भयो । यो सङ्ख्या अन्य मुलुकमा २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको भन्दा अत्याधिक धेरै हो । विश्वमा दैनिक सङ्क्रमण पुष्टि हुनेमध्ये आधाभन्दा बढी भारतीय नागरिक हुने गरेका छन् । भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ६७ लाख ५१ हजार छ सय ८१ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ३७ लाख २० हजार नौ सय १९ जना उपचारपछि निको भएका छन् । २७ लाख २७ हजार ११ जनाको उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ को अवस्था गम्भीर छ । कोरोनाका कारण विश्वमा प्रभावित हुनेमध्ये दोस्रो नम्बरमा रहेको मुलुक भारतमा एकै दिन चार हजार चार सय ५५ जनाको मृत्यु भयो । यो सङ्ख्या पनि अन्य मुलुकमा ज्यान गुमाएका सङ्क्रमितको भन्दा धेरै हो । भारतमा अहिलेसम्म कोरोनाका कारण तीन लाख तीन हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको ब्राजिलले पनि कोरोना सङ्क्रमण नियन्त्रणमा क्रमस सफलता प्राप्त गरिरहेको छ । यसअघि एकै दिन ५० हजारभन्दा नयाँ बिरामी थपिने गरेका थिए । दुई हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो ।

 

तर पछिल्लो २४ घण्टामा ब्राजिलमा ३५ हजार आठ सय १९ जना नयाँ सङ्क्रमित थपिए । जम्मा सङ्क्रमित सङ्ख्या एक करोड ६० लाख ८३ हजार दुई सय ५८ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ४४ लाख ६२ हजार चार सय ३२ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ११ लाख ७१ हजार सात सय ५८ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिलमा २४ घण्टाभित्र सात सय ७७ जनाको मृत्यु भयो । यो सङ्ख्या यसअघि ब्राजिलमा दैनिक मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै कम हो । अहिलेसम्म कोरोनाका कारण ब्राजिलमा चार लाख ४९ हजार ६८ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ ।