२०७८ असार १ , मंगलबार

राष्ट्रपति र प्रधानमन्त्री पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्त – कास्की काँग्रेस

सुनाखरी न्युज/ काठमाडौं – पोखरा – नेपाली काँग्रेस कास्कीले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, आलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम चालेकोप्रति निन्दा गरेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको बद्नियतपूर्ण ढंगले मिलेमतोमा षडयन्त्र भैरहेको भन्दै आपत्ति जनाएको छ ।

 

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले पदको चरम दुरुपयोग गर्दै संविधान मास्न उद्त भएको उल्लेख छ । जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई राष्ट्रपति र प्रधानमन्त्रीले निजी सम्पत्तीका रुपमा आफू अनुकुल प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ । दावी गर्न नमिल्ने माननीय केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्ति गरिएकोमा भत्र्सना गरिएको छ । विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आव्हान गरिएको छ ।

 

यसैबीच, नेपाली काँग्रेस कास्कीले नेपाली काग्रेस क्षेत्र नं २(ख) कास्कीका अगुवा नेता तथा कार्यकर्तासँग आइतबार गरेको जुम बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।