२०७८ असार १० , बिहिवार

रामपुर नगरपालिकाका मेयरले आफैं खोप किन्न मागे अनुमति

सुनाखरी न्युज/ पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले आफैं कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार निवेदन दिएका छन् । भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर अनुमति मागेको थापाले बताए ।

 

‘रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ मेयर थापाले भने, ‘स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’

मेयर थापाले भारतीय गृहमन्त्री अमित शाहको सचिवालयमा रहेका सन्दीप राना रामपुर वडा नम्बर ७ कै भएकाले उनकै समन्वयमा खोप खरिद गर्न अनुमति मागिएको बताए ।