२०७८ असार १ , मंगलबार

रोल्पामा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो

सुनाखरी न्युज/ रोल्पा– रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटिएको छ ।

 

त्रिवेणी गाउँपालिका–२ रामपुर गाउँ नजिकैको बास घारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो । यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरि ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । हतियारका सामाग्रीहरु रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहबनस्थित गुल्मको टोलीले उक्त सामाग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

 

रोल्पामा पटक पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ । गत साल असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको थियो । हतियार भेटिए पनि राजनीतिक दबावका कारण प्रहरीले ति कुरा गोप्य राख्दै आएको छ । रोल्पाका गाउँमा हतियार भेटिएको भएपनि प्रहरीले गोप्य राख्दा ठूलो दुर्घटना समेत हुदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमा ओलीको गुनासो छ । ‘गत वर्ष मात्रै त्रिवेणी गाउँपालिका–७ मा बेवारिसे बम विष्फोट हुदा गोठालो गएका ४ बालकको अकालमा ज्यान गएको थियो’ अध्यक्ष ओलीले भन्नुभयो ‘प्रहरीले यि कुराहरु हामीलाई कुनै जानकारी नगराउदा यि हतियार कहाँबाट आएका हुन र के कारणले ल्याइएका हुन भन्ने आशंका उत्पन्न भएको छ ।’