२०७८ असार १० , बिहिवार

निषेधाज्ञामा कडाई, कार्यान्वयनमा बाधा पुर्‍याए एक वर्ष, उल्लंघन गरे मात्र ६ महिना कैद हुने

Home Ministry

सुनाखरी न्युज/ काठमाडौं-
गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिनघि जारी गरेसँगै अध्यादेश कार्यान्वयन कडाइसाथ गर्न निर्देशन दिइएको हो।

अहिले कोरोना महामारीका कारण करिब देशभरि नै निषेधाज्ञा जारी गरिएको छ। अध्यादेशले निषेधाज्ञालाई व्यवस्थापन गर्नेबारे सम्बोधन गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतलाई बोलाएर शनिबार गृहसचिव न्यौपानेले निर्देशन दिएको गृह स्रोतले बतायो।

 

अध्यादेशले जरिवाना र सजायको प्रावधानलाई पनि बढाएको छ। यसअघि संक्रामक रोग ऐन २०२० अन्तर्गतको प्रावधानलाई टेकेर जरिवाना र सजाय गरिरहेकोमा अब अध्यादेशको प्रावधान कार्यान्वयनमा आउँछ। बैठकमा सहभागी एक अधिकारीले भने, ‘अध्यादेशले सम्बोधन गरेअनुसार निषेधाज्ञालाई कडाइ गर्दै कार्यान्वयन गर्न सचिवज्यूले निर्देशन दिनुभयो।’ अध्यादेशले निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था गरेको छ।

 

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक गणेश अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र गृहको सुरक्षा प्रशासन महाशाखाका सहसचिव जनकराज दाहाल थिए।