२०७८ असार २ , बुधवार

संसद् विघटनविरुद्ध १४९ सांसदसहित पाँच दल आइतबार सर्वोच्च जाने (निर्णय सहित)

सुनाखरी न्युज/ काठमाडौं-

राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटन गरि मध्यावधि चुनावमा जाने कदम विरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका छन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरु सर्वोच्च जाने पाँच दलको नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले निर्णय गरेको हो ।

 

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भोलि आइतबार १ बजे संसद् भवनमा सबै सांसदहरुलाई नागरिकतासहित बोलाइएको बताइन् । ‘रीटको ड्राफ्ट तयार हुँदैछ । भोलि सबै काम सकियो भने भोलि जान्छौं नभए ढिलोमा पर्सी सोमबार सर्वोच्च जाने निर्णय भएको छ,’ पौडेलले भनिन् ।

 

बैठकपछि मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने बताए । उनले आइतबार १४९ सांसद र यो विघटनको विपक्षमा रहेका अन्य सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च जाने बताए ।