२०७८ जेठ ३० , आइतवार

सबै विकल्पमा छलफल गर्ने कांग्रेसको निर्णय

सुनाखरी न्युज/ काठमाण्डौ -नेपाली कांग्रेसले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि गर्नुभएको आहवान सम्बन्धमा सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको छ ।

 

पार्टीका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शुक्रबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको संयुक्त बैठकले विभिन्न विकल्पमा अन्य दलसँग छलफल गर्ने निर्णय गरेको हो । ‘संविधानको रक्षा मूल उद्देश्यसहित कुन बाटो अख्तियार गर्नुपर्छ, अन्य दलसँग सबै विकल्पमा छलफल गर्छौं,’ बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो । महतले वैकल्पिक सरकारको नेतृत्वसहित सबै विकल्पमा छलफल हुने जानकारी दिनुभयो ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नेपालको संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गर्ने प्रयोजनका लागि विज्ञप्ती जारी गर्नुभएपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको हो । राष्ट्रपतिले आज वेलुकी ५ बजेसम्मका लागि नयाँ सरकार गठनको समयावधि दिनुभएको छ ।