२०७८ असार १ , मंगलबार

सेयर खरिदबिक्रीमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने माथी कारबाही गर्ने सेबोनको चेतावनी

सुनाखरी न्युज/ काठमाण्डौ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ। धितोपत्र बोर्ड बिहीबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको छ।

 

‘धितोपत्रसम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैँले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोबारसम्बन्धी कसूर गरेको मानिने व्यवस्था रहेको छ’, सूचनामा भनिएको छ। त्यस्तै अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययनका आधारमा मात्र दोस्रो बजार सूचकांक तथा सूचीकृत संगठित संस्थाको सेयर मूल्यको विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था रहेको सूचनामा उल्लेख छ।

 

हाल विभिन्न व्यक्ति र समूहले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित सेयरहरु खरिद वा बिक्री गर्न तथा नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तर्वार्ता र अभिव्यक्ति दिइरहेको देखिएको भन्दै बोर्डले गम्भीर ध्यानार्षण भएको जनाएको छ। त्यस्ता सञ्चारमाध्यम, सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको सेयरको मूल्य बढ्ने वा घट्ने विषयमा टिकाटिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु किन्न उक्साउने वा नकिन्न अभिपे्ररित गर्ने वा बजारको स्वतन्त्र रुपले सञ्न्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न र नगराउन बोर्डले आग्रह गरेको छ।

 

धितोपत्र बजारको स्वच्छ, पारदर्शी र प्रभावकारी सञ्चालनबाट लगानीकर्ताको हित संरक्षण हुने हुनाले बजारलाई प्रभावित पार्ने कार्यहरु हुन नदिन बोर्ड सचेत रहेको पनि सूचनामा उल्लेख छ। ‘त्यस्ता घटनालाई बोर्डले नजिकबाट नियालिरहेकोले हाललाई त्यस्तो कार्य नगर्न र नगराउन सबैलाई सूचित गरिन्छ’, सूचनामा भनिएको छ, ‘कसैले बोर्डको सूचनाको अवज्ञा गरी अबउपरान्त बोर्डको स्वीकृति बिना यस्ता कार्यलाई निरन्तरता दिएको पाइएमा धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गरिनेछ।’