२०७८ असार ७ , सोमवार

श्रीमतीलाई खाल्डोमा पुरेर हराएको’ भनेर खोज्दै हिँड्ने श्रीमान र ससुरा पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – प्रहरीले एक महिलालाई खाल्डो खनेर पुरेको आरोपमा श्रीमान र ससुरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले २२ वर्षीय महिलाको हत्या गरी खाल्डोमा पुरेको आरोपमा महिलाका श्रीमान र ससुरालाई पक्राउ गरेको हो।

 

प्रहरी नायब उपरीक्षक ९डिएसपी० हरि खतिवडाका अनुसार बुधबार उनीहरू दुई जनालाई पक्राउ गरेको हो। मृतक महिला बन्दीपुर गाउँपालिका(४ की २२ वर्षीया सुमिना गुरूङ हुन्। उनको दुई वर्षअघि काभ्रेको चौरीदेउराली गाउँपालिका(९ गोठपानीका २८ वर्षीय सोनाम लामासँग विवाह भएको थियो। उनीहरूको एक वर्षको छोरा पनि रहेको डिएसपी खतिवडाले बताए। प्रहरीले सुमिनाका ससुरा ६६ वर्षीय चन्द्रबज्र लामा र उनका छोरा सोनाम लामालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। उनीहरूले आफ्नो घरभन्दा करिब एक सय मिटर पर रहेको मकै बारीमा गत शनिबार खाल्डो खनेर पुरेका थिए। बुधबार फोरेन्सिक सहितको टोली पुगेर खाल्डोबाट शव निकालेको थियो। सोनाम आफैंले नै गाउँघरमा आफ्नी श्रीमती हराइरहेको भन्दै हिँडेका थिए। तर प्रहरीले उनीमाथि नै शंका गरेर नियन्त्रणमा लिएपछि सुमिनालाई खाल्डोमा पुरेको कुरा खुलेको डिएसपी खतिवडाले बताए।

 

आफैंले खाल्डोमा श्रीमतीलाई पुरेर गाउँघरमा बाबुछोराले हरायो भन्दै हिँडेछन्। माइती पक्षले जाहेरी दिएपछि हामीले श्रीमानमाथि शंका लागेर सोधपुछ गर्‍यौं, डिएसपी खतिवडाले भने, त्यसपछि मैले बुवासँग मिलेर गाडेको हो भन्ने कुरा गरे। अनि हामीले नियन्त्रणमा लिएका हौं। आफ्नी श्रीमतीको हत्याबारे सोधपुछ गर्दा सोनामले श्रीमतीले आत्महत्या गरेको प्रहरीमा बयान दिएका छन्। श्रीमतीले आत्महत्या गरिन्। डर लागेर हामीले लास लुकाएको भन्छन्। झुण्डिएको हो कि मारेको हो भन्ने अनुसन्धान हुँदैछ, डिएसपी खतिवडाले भने। प्रहरीले शव पोष्टमार्टमको लागि धुलिखेल अस्पताल पठाएको छ। उनको पोष्टमार्टमपछि हत्यापछि गाडेको हो वा आत्महत्या गरेपछि गाडेको भन्ने खुल्ने डिएसपी खतिवडा बताउँछन्।