२०७८ असार ८ , मंगलबार

निम्बस कम्पनीद्वारा नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं – निम्बस कम्पनी नेपालले नेपाल प्रहरीका कर्मचारीहरुका लागि पहिलो चरणमा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त कम्पनीका प्रबन्ध निर्देशक आनन्द कुमार बगरियाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

 

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १ लाख थान सर्जिकल मास्क, १० हजार थान एन-९५ मास्क र ८० लिटर स्यानिटाइजर रहेका छन् । नेपाल प्रहरीमा देशभर कार्यरत प्रहरी कर्मचारीहरुका लागि आवश्यकता अनुरुप प्रोटेक्ट ब्रान्डको मास्क र स्यानिटाइजर उपलब्ध गराउने कम्पनीको नीति अनुरुप पहिलो चरणमा उक्त सामग्री उपलब्ध गराइएको प्रबन्ध निर्देशक बगरियाले बताउनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निम्बस कम्पनीको तर्फबाट कार्यकारी निर्देशक र प्रशासन प्रमुख समेतको उपस्थिति रहेको थियो ।