२०७८ असार १० , बिहिवार

कोभिड-१९ महामारी नियन्त्रणका लागि नेपाली कांग्रेस सशक्त र प्रभावकारी रुपमा अघि बड्ने

किरण गिरी – नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूको अध्यक्षतामा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक संघीय संसद भवन, ल्होत्से हल नयाँ बानेश्वरमा आज बस्यो। बैठक पछि प्रमुख सचेतक बालकृष्ण खांड द्वारा जारी गरिएको बिज्ञपति अनुसार कोभिड १९ को दोस्रो महामारी रोकथाम र नियन्त्रणका बारेमा सार्थक र प्रभावकारी निर्णय गरेको छ ।

 

बैठकका निर्णय हरु :-
१.प्रत्येक नेपाली नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व हो तर वर्तमान सरकार जनताको जीवन रक्षाका लागि गम्भीर एवं संवेदनशील छैन । नेपालमा कोरोना संक्रमणको शुरुवाती दिनमा स्वयं प्रधानमन्त्रीको नेपाली जनताको रोग प्रतिरोध क्षमता बढी भएको हुँदा नेपालमा गम्भीर प्रभाव र मानवीय क्षति नहुने गलत विश्लेषणको कारण हाल नेपाली ठूलो क्षति व्यहोर्नु परेको छ । विश्व स्वास्थ्य संगठन र विज्ञहरुको नेपाल बेलैमा सजग हुनुपर्ने र महामारी रोकथामका लागि पूर्वतयारी गर्नुपर्ने सुझावलाई वेवस्ता गरी प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिको गलत विचार र सन्देशका कारण सम्पूर्ण नेपालीले पिडा भग्नु परेको छ जुन अत्यन्त आपत्तिजनक विषय हो ।

२. नेपालमा कोभिड १९ को दोश्रो लहरका साथै नयाँ स्वरुपको संक्रमण तीव्र रुपमा फैलिरहेको आवस्था छ । दिनप्रति दिन हजारौंको संख्यामा संक्रमित र उपचारको अभावमा सयौंको संख्यामा मृत्यु भइरहेको छ । यस संकटको अवस्थामा सरकारले प्रभावकारी ढंगले राज्यको संयन्त्र र अधिक भन्दा अधिक साधनस्रोत परिचालन गरी कोरोना नियन्त्रण, न्यूनिकरण र उपचारमा ध्यान केन्द्रीत गर्नु पर्नेमा आफ्नो दायित्वबाट विमुख हुँदैछ । सरकारको यो कार्यको यो बैठक गम्भीर आपत्ति व्यक्त गर्दछ ।

३. कोभिड १९ उपचारका लागि स्वास्थ्य सामग्री, उपकरणहरु, औषधी र खरिद गर्दा आर्थिक अनियमितता भएको छ । त्यसै गरी भ्याकसिन खरिद प्रकृयामा कमिशन काण्ड भइरहेका छन् । सरकारले अनियमिततामा संलग्न व्यक्तिलाई कारवाहीको सट्टा संरक्षण गर्ने कार्य गरेको छ । सरकारका यो कार्यको यो बैठक घोर भत्सर्ना गर्दै दोषीलाई कारवाही होस् भन्ने माग गर्दछ ।

४. कोभिड १९ रोकथाम तथा न्यूनिकरणका लागि नेपाल सरकार गम्भीर हुन जरुरी छ । स्वास्थ्य सामग्री, औषधी, उपकरण र विशेष गरी कोभिड विरुद्धको खोप ठूलो मात्रामा आयात गरी सबै नागरिकलाई तत्काल लगाई उनीहरुको जीवन रक्षा गर्न यो बैठक जोडदार माग गर्दछ । जेष्ठ नागरिक लगायत सुरक्षाकर्मीहरुलाई पहिलो खोप दिए पनि दोश्रो मात्रा दिन बाँकी रहेको छ । दोश्रो डोज दिने समय सीमा धेरै कम रहेकोले अबिलम्व दोश्रो खोप दिने व्यवस्था अविलम्ब गरियोस् भनि माग गर्दछ ।

५. कोभिड १९ उपचार, रोकथाम तथा न्यूनिकरणका लागि छिमेकी मित्रराष्ट्र भारत र चीन लगायत अन्तर्राष्ट्रिय दातृ राष्ट्र एवं निकायहरुले खोप, स्वस्थ्य सामग्री, औषधी र उपकरणहरु दिएर सहयोग गरेको प्रति यो बैठक हार्दिक धन्यवाद प्रकट गर्दछ र आगामी दिनहरुमा थप सहयोग एवं साथको आब्हान गर्दछ । यस सन्दर्भमा सरकारले पनि कुटनीतिक पहल गर्न र विदेश स्थित कुटनीतिक नियोगलाई क्रियाशिल हुन यो बैठक आग्रह गर्दछ ।

६. यस कोभिड महामारीमा आफ्नो जीवन जोखिममा राखेर अग्रपंक्तिमा रहेर दिनरात खटिनु हुने डाक्टर, नर्स एवं अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र सञ्चारकर्मीको योगदानको उच्च कदर गर्दै नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको यो बैठक उहाँहरु सबैलाई विशेष धन्यवाद दिन चाहान्छ । यसरी फ्रण्टलाईनमा रही नागरिकको जीवन रक्षाका लागि कार्य गर्दै आउनु भएका व्यक्तिहरुको स्वास्थ्य सुरक्षा एवं जीवन रक्षाको आवश्यक प्रवन्ध गर्न र उनीहरुको मनोवल उच्च राख्नका लागि सरकारले प्रोत्साहन स्वरुप विशेष प्याकेज ल्याउन माग गर्दछौं ।

७. त्यसै गरी कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्थानीय निकायले आइसोलेशन र क्वारेन्टिन स्थल निर्माण जस्ता महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । दिनरात खटिनु हुने स्थानीय निकायका जनप्रतिनिधिहरुको कार्य सह्रानीय एवं प्रंसशनीय छ । यसरी महामारी नियन्त्रण एवं व्यवस्थापनमा क्रियाशिल स्थानीय तहलाई संघीय र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरी सहयोग गर्न माग गर्दछौं ।

८. कोरोना महामारीमा विभिन्न माध्यमबाट सहयोग गर्नु हुने सार्वजनिक एवं निजी संघ संस्था एवं व्यक्तिहरु तथा सहयोग हातलाई धन्यवाद दिन चाहान्छौं । देशले संकट भोगिरहेको बेला अघि बढेर एकजुट भई सहयोग गर्नु सह्रानीय कार्य हो । यस कार्यको नेपाली कांग्रेस उच्च सम्मान गर्दछ ।

९. कोभिड १९ नियन्त्रणका लागि लामो सयम देखि निषेधाज्ञाको कारण कलकारखाना, उद्योग, सबै प्रकारका व्यापार व्यवसाय ठप्प रहेको छ । जसको कारण श्रमिक, मजदुर कृषक, न्यून आय भएका लगायत सबै व्यवसायीहरुलाई जीवनयापन गर्न कठिनाई भइरहेको छ । यस तर्पm पनि सरकारको ध्यान आकृष्ट गराउँदै सबै वर्गका लागि सम्बोधन हुने राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ।

१०. कोरोना संक्रमितहरुको उचित उपचारका निम्ति सातै प्रदेशमा आई.सी.यू निर्माण तथा भेन्टिलेटर जडान र अक्सिजन प्लान्ट निर्माण गरी अस्थाई कोभिड अस्पताल अविलम्ब स्थापना गर्न सरकारसँग माग गरेको छ ।

११. साथै, बागमती प्रदेश राष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा निर्वाचन आचार संहिता उलंघन गरी प्रधामन्त्री केपी शर्मा ओलीले मत माग्ने वक्तव्य दिनु भएको प्रति संसदीय दल कार्यसमितिको यो बैठक घोर भत्सर्ना गर्दछ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरित कार्य गर्ने जो कोहीलाई कारवाही गर्न बैठक जोडदार माग समेत गरेको छ ।

यता नेपाली कांग्रेस कोभिड -१९ अनुगमन समितिले सातै प्रदेशमा कोरोना महामारी को बर्तमान , नेपाली कांग्रेस ले खेलेको भुमिका , महामारी रोकथाम र नियन्त्रणका लागि देशभर नेपाली कांग्रेस पार्टी संगठनले खेल्न सक्ने भुमिका बारे भर्चुअल बैठक को माध्यम बाट अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

नेपाली कांग्रेस कोभिड – केन्द्रीय अनुगमन समितिका संयोजक सह महामन्त्री प्रकश सरण महतले संयोजन परिचालन गर्नुभएको सातै प्रदेश को सो अन्तरक्रिया कार्यक्रममा सभापति शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेलले सबै प्रदेशमा प्रमुख र बिशिस्ट अतिथिको रुपमा सहाभागिता एबं संबोधन गर्नु भएको थियो । सातवटै प्रदेशमा सम्बन्धित प्रदेशका नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एबं केन्द्रीय सदस्यहरु , संघीय संसद र प्रदेश सभाका माननीय सांसदहरु , सम्बन्धित जिल्ला र क्षेत्रीय सभापतिहरू लगायत भातृ तथा शुभेच्छुक संगठनका पदाधिकारी तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

 

कोभिड १९ को दोस्रो चरण को महामारी लाई नियन्त्रण र रोकथाम गर्न नेपाली कांग्रेस सरकार लाई दबाब दिदै आफू पनि शसक्त र प्रभावकारी रुपमा उत्रिएको छ । स्वस्थ्य मापदण्ड र नियमहरुको पालना महामारी रोकथाम र नियन्त्रणमा सशक्त बनौं ।

लेखक तथा संयोजन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।