२०७८ असार १० , बिहिवार

गाउँमा पुगेकाहरुले भेरोसेल दोस्रो डोज कसरी लगाउने ?

सुनाखरी न्युज/ काठमाडौं ।

निषेधाज्ञाकै बीचमा काठमाडौं उपत्यकामा भेरोसेल खोपको दोस्रो डोज अभियान सुरु भएको छ । पहिलो डोज खोप लगाएका र अहिले गाउँमा भएकाहरुलाई भने दोस्रो डोज कसरी लगाउने भन्ने चिन्ता छ ।

 

सरकारले पहिलो डोज लगाएका तर बाध्यात्मक अवस्थामा उपत्यका छाडेका नागरिकलाई दोस्रो डोजको खोप लगाउने व्यवस्था मिलाउने बताएको छ । स्वास्थ्य सेवा विभाग, खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जनजीवन सामान्य बनेसँगै नागरिकहरु उपत्यका फर्किन थालेपछि दोस्रो डोज खोप लगाउन छुटेका नागरिकलाई खोप लगाउने व्यवस्था मिलाउने बताए ।

डा. गौतमका अनुसार करिब २ लाख ९० हजार नागरिकले भेरोसेलको पहिलो डोज लगाएका छन् । ‘जेठ २ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाउन सुरु भइसकेको छ,’ उनले भने, ‘अहिले जारी रहेको खोप अभियान सकिएपछि मात्रै दोस्रो डोज लगाउन कति नागरिक छुटे भन्ने यकिन हुन्छ । खोप लगाउन छुटेका संख्याको आधारमा सरकारले त्यसको व्यवस्थापन मिलाउँछ ।’

पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज खोप लगाउनुपर्छ । ‘तर बाध्यात्मक अवस्थामा केही ढिला गरी लगाउँदा पनि प्रभावकारितामा खासै फरक नपर्ला,’ डा। गौतमले भने ।