२०७८ जेठ ३० , आइतवार

निषेधाज्ञाले खपत कम हुँदा कुखुराको मासुको मूल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं – निषेधाज्ञाका कारण खपत कम हुन थालेपछि कुखुराको मासुको मूल्य घट्न थालेको छ। कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिले मुलुकका अधिकांश भागमा निषेधाज्ञा लगाइएको छ। जसका कारण होटेल, पार्टी प्यालेस तथा रेस्टुराँहरु बन्द छन्।

 

यी क्षेत्रमा कुखुराको मासु बढी खपत हुने गरेको छ। यी क्षेत्र बन्द भएसँगै कुखुराको मासुको माग कम हुन थालेसँगै मूल्यमा पनि गिरावट आउन थालेको हो। राष्ट्रि कुखुरा व्यवसायी संघका अनुसार मंगलबारदेखि जिउँदो बोइलर कुखुरा र तयारी मासुको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेको छ। संघले जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर खरिद मूल्य २४० रुपैयाँ तोकेको छ भने उपभोक्ताका लागि तयारी मासुको मूल्य प्रतिकेजी ३४० रुपैयाँ कायम गरेको छ। यसअघि जिउँदो कुखुरा प्रतिकेजी २५० रुपैयाँ र मासु प्रतिकेजी ३५० रुपैयाँ थियो।

 

गत महिना बजारमा जिउँदो कुखुराको अभाव थियो। जसका कारण मूल्य बढेर जिउँदो कुखुरा प्रतिकेजी ३१० रुपैयाँ र तयारी मासु प्रतिकेजी ४५० रुपैयाँभन्दा बढी पुगेको थियो। अहिले निषेधाज्ञाका कारण बिहानीको समयमा मात्रै बजार खुल्ने भएकोले मागमा कमी हुँदा मूल्य घटेको संघले जनाएको छ। संघका अनुसार निषेधाज्ञाले कुखुराको मासुको खपत ७० प्रतिशत घटेको छ। गत वैशाख १६ गतेपछि करिब २५ देखि ३० प्रतिशतमात्र मासुको खपत रहेको संघले जनाएको छ। निषेधाज्ञा लम्बिएमा मूल्य अझै घट्न सक्ने संघको भनाइ छ।