२०७८ जेठ ३० , आइतवार

भारतमा कोरोना नियन्त्रण तर्फ: पछिल्लो २४ घण्टामा २ लाख ८१ हजारमा संक्रमण

सुनाखरी न्युज/ काठमाडौं – भारतमाको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा कोरोना सङ्क्रमण नियन्त्रण सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताउनुभएको छ । सङ्क्रमणका कारण स्वास्थ्य सेवा अस्तव्यस्त भएको र अक्सिजनकै अभावमा कैयौंको ज्यान गइसकेको दिल्लीमा अब भने अवस्था नियन्त्रणमा आउन थालेको उहाँको भनाइ छ ।

 

मुख्यमन्त्री केजरीवालले महामारी नियन्त्रणमा अरु प्रयासहरुसँगै लकडाउन पनि प्रभावकारी भएको बताउनुभएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । दिल्लीमा पुनः एक हप्ताका लागि लकडाउन थप गरी मे २४ अर्थात जेठ १० गतेसम्मका लागि पुर्याइएको छ । लकडाउन गर्नुअघि दिल्लीमा सङ्क्रमण दर ३५ प्रतिशत रहेकोमा अहिले झरेर १० दशमलव चार प्रतिशतमा झरेको भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर भारतमा कोरोनाको जोखिम भने टरिसकेको छैन । अझै सङ्क्रमण फैलने क्रम जारी छ । यसअघि कोरोनाले अत्यासलाग्दो अवस्था बनाएको भारतमा पछिल्लो २४ घण्टाभित्र दुई लाख ८१ हजार आठ सय ६० जना नयाँ सङ्क्रमित थपिए । कोरोना चरम उत्कर्षमा पुगेका बेला भारतमा दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । हालसम्म भारतमा दुई करोड ४९ लाख ६४ हजार नौ सय २५ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

 

भारतमा दैनिक भेटिने नयाँ बिरामीको सङ्ख्या विश्वमा थपिएका सङ्क्रमितको आधाभन्दा बढी हुने गरेको छ । नयाँ समितको सङ्ख्या कम हुँदै गइरहे पनि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या भने घट्न सकिरहेको छैन । दैनिक चार हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहेको छ । भारतमा एकै दिन चार हजार ९२ सङ्क्रमितको मृत्यु भयो ।हालसम्म कोरोनाका कारण दुई लाख ७४ हजार चार सय ११ जना भारतीय नागरिकको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये दुई करोड ११ लाख ६७ हजार छ सय नौ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ३५ लाख २२ हजार नौ सय पाँच जनाको उपचार भइरहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । कोरोनाले छिमेकी मुलुकलाई नराम्ररी असर गरिरहँदा त्यसको प्रत्यक्ष प्रभाव खुला सीमा रहेको नेपालमा परिरहेको छ ।

 

नेपालमा दैनिक नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै जानुको मुख्य कारण भारतसँगको खुल्ला सीमालाई मानिएको छ । मानिस तथा सवारी साधन आवतजावत मै रोक लगाएर दुई देशीय सीमा नाका शिल गरिएको भए पनि भारतबाट हुने अवैध आवतजावत नरोकिँदा कोरोना कहरमा नेपाल पनि पिल्सिन पुगेको विज्ञको भनाइ छ ।भारतबाट आवतजावत गर्नका लागि सीमा नाकामा हेल्थ डेस्क सञ्चालन गरिएको छ । विभिन्न काम परेर भारत गएकाले नेपाल आउन चाहेमा प्रवेश गर्न निश्चित नाका तोकिएको छ । नाकाबाट एन्टिजेन परीक्षण गरेर कोरोना भए वा नभएको पुष्टि भएपछि र सरकारले तोकेको मापदण्ड पूरा गरेपछि मात्रै नेपाल आउने पाइने नियम बनाइएको छ ।