२०७८ असार ८ , मंगलबार

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा संकल्पित छौं : प्रधानमन्त्री ओली (पूर्णपाठ)

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको बताउनुभयो । सोमबार मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट व्यक्त गर्नुभयो ।

 

प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताको लागि भण्डारीले पुर्‍याएको योगदानहरु दूरगामी महत्वको र अतुलनीय रहेको बताउनुभयो । ओलीले ३ वर्षअघि नेकपा माओवादी केन्द्रसँगको एकता पनि भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने एउटा प्रयास रहेको बताउनुभयो । तर कतिपय नेताहरुको विभाजनकारी एवं अस्थिर र अवसरबादी सोचका कारण यो पूरा नभएको उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रधानमन्त्री ओलीले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्बर्द्धन र राष्ट्रिय हितको रक्षाको लागि अविचलित रुपमा क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ गते यो दिवस मनाउने गरिन्छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै एमाले नेता माधव नेपालले दासढुंगा घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।