२०७८ असार २ , बुधवार

सिनियर डाक्टरले कोरोनाका बिरामी हेरेनन्ः स्वास्थ्यमन्त्री त्रिपाठी

सुनाखरी न्युज/ काठमाडौं-
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले वरिष्ठ डाक्टरहरू नै कोरोनासँग डराएर बिरामी जाँच गर्न नजाने गरेको बताएका छन्। सरकारी र निजी अस्पतालमा रहेका सिनियर डाक्टरहरूले कोरोनाका बिरामीको रेखदेख र उपचार नगरेको पाइएको उनको भनाइ थियो।

प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरू सम्मिलित बैठकमा आइतबार  उनले यो कुरा  भनेका हुन्।

‘सिनियर डाक्टरहरू त कोरोनासँग यति डराएर भाग्नु हुने रहेछ कि?,’ उनले भने, ‘जुनियर डाक्टरले मात्रै कोरोनाका बिरामी हेर्ने। सरकारी वा निजीमा पनि हुने यही रहेछ।’

उनले अस्पतालका आकस्मिक कक्षमा बिरामीको अवस्थाका आधारमा नभई चिकित्सकको मनलाग्दीका आधारमा बिरामी लगिने गरेकोसमेत सुनाए।

 

‘चारैतिरबाट खबर आएको छ कि-इमर्जेन्सीमा रहेका बिरामीहरूको हकमा बिरामीहरूको जटिलताका आधारमा हैन, फेभरको आधारमा आईसियूमा लग्ने। त्यसले पनि मृत्युदर बढाउने काम गर्ने रहेछ,’ उनले भने।

प्रधानमन्त्री ओलीलाई संक्रमण अवस्थाबारे ब्रिफिङ गर्दै मन्त्री त्रिपाठीले अहिलेको भन्दा अझ प्रभावकारी कदम चाल्नुपर्ने बताएका थिए।