२०७८ असार ७ , सोमवार

सरकारद्वारा एक हजार सिलिन्डर फिर्ता

सुनाखरी न्युज/ काठमाडौं – सरकारले विभिन्न ठाउँमा रहेका एक हजार २९२ अक्सिजन सिलिन्डर फिर्ता गरेको छ । उद्योग तथा अन्य क्षेत्रमा प्रयोगमा रहेका ती सिलिन्डर फिर्ता गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

 

एक सय २६ स्थानका उद्योग र अन्य क्षेत्रमा अनुगमन गरी ती सिलिन्डर फिर्ता गरिएको हो ।नेपालमा अहिले एक लाख ११ हजार ३६४ सिलिन्डर ग्यास छन् । उनका अनुसार काठमाडौँ उपत्यकाका १० उद्योग र बाहिरका १९ उद्योगका ठूला ७२ हजार २५० र साना ३९ हजार ११४ सिलिन्डर छन् । यसैगरी देशभरि ३१ हजार आइसोलेशन सेन्टरको व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । तीमध्ये एक हजार ५०० अक्सिजनसहितका आइसोलेशन सेन्टर छन् । उनका अनुसार सङ्क्रमितको उपचारका लागि १० हजार ८१२ सामान्य शय्या, हाइ डिपेन्डेन्सी (एचडियु) दुई हजार ५९०, एक हजार ६२३ सघन उपचार कक्ष (आइसियु) र ५९८ भेन्टिलेटर छन् ।

 

उनले हाल अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री प्राप्त हुने क्रम बढदै गइरहेकाले संक्रमितलाई अक्सिजन र शय्या अभाव हुन नदिने प्रयास गरिएको जानकारी दिए । उनका अनुसार चीनको सिचुवान प्रान्तले सरकारलाई उपलब्ध गराउने स्वास्थ्य सामग्री यही जेठ ५ गते सिचुवान एयरलाइन्सको चार्टर कार्गो उडानबाट काठमाडौँ आइपुग्ने छ । सरकारले क्वारेन्टिनको नियम पालना नगर्ने देशभरका ४२ हजार ८२८ जनालाई कारवाही र सचेत गराइएको जनाएको छ ।