२०७८ असार ६ , आइतवार

नेपाल पक्षका सांसदको राजीनामा रोकियो, ‘ओलीसँगको छलफल सकारात्मक’: वरिष्ठ नेता नेपाल

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच बिहीवार दिउँसो बूढानीलकण्ठमा एक व्यवसायीको घरमा छलफल भएको थियो ।

 

भेटवार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले कुराकानी सकारात्मक भएको र आफू पक्षका सांसदको राजीनामा आजका लागि टरेको जानकारी दिनुभयो । छलफलमा पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन प्रधानमन्त्री ओली सकारात्मक रहेको नेता नेपालको भनाइ छ । बिहीवार बिहान बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गरे पनि नेपाल पक्षले भने थप माग पूरा नहुञ्जेल साथ नदिन नसकिने बताइरहेको थियो । नेपाल पक्षका सांसदले आजै चार बजे राजीनामा दिने चेतावनी दिए पनि ओली र नेपालको भेटवार्ताका कारण राजीनामा टरेको छ ।

 

नेकपा एमालेले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन कार्यदल गठन गर्ने भएको छ । दुई नेताबीच भएको भेटघाटमा पार्टीभित्रको अन्तरविरोधमा समाधान खोज्न कार्यदल गठन गर्ने सहमति भएको हो । नेता नेपालले भन्नुभयो, ‘हामी दुई जनाको बीचमा भेटघाट, कुराकानी भए । पार्टीभित्रको समस्याको बारेमा हामीले आफ्नो–आफ्नो सोचाइ राख्यौँ । वैशाख २६ गते अध्यक्ष केपी ओलीलाई पठाएको पत्रमा ६ बुँदे विषय मैले अघि सारेको थिएँ प्रस्ताव । त्यसमा छलफल गरियो । छलफल गरिसकेपछि फागुन २८ गते र त्यसपछि भएका निर्णय फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसला बमोजिम जेठ २ गतेको अवस्थामा पुर्‍याउने र पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनका लागि हामीले कुन तरिका अवलम्बन गर्ने भन्नेबारेमा छलफल गरिरहने कुरा भएको छ । राजीनामा दुई चार दिनलाई टर्‍यो । कार्यदल बन्छ । मिल्ने दिशामा अगाडि बढ्न खोजिएको छ ।’

 

बिहीवार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय राजनीतिमा र पार्टीभित्र महत्त्व राख्ने सम्पूर्ण विषयको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । साथै अन्तरपार्टी एकता र सुदृढीकरणका लागि आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो ।