२०७८ असार १ , मंगलबार

सेयर बजार सकारात्मक लयमा

nepse

सुनाखरी न्युज/ काठमाडौं – साताको अन्तिम दिन बिहीबार नेप्से सूचक सकारात्मक देखिएको छ । सूचकका साथमा खरिदबिक्री रकम पनि राम्रो रहेको छ । ७ अर्ब १२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

 

फाइनान्स, विकास बैंक र हाइड्रोपावर समूहहरुमा बढी तेजी आएको छ । १ दर्जन कम्पनीको भाउ सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । पछिल्ला दिनहरुमा सेयर बजार विस्तारै माथि लाग्ने प्रयास गरिरहेको छ । कोरोना महामारी र राजनीतिक अस्थिरतालाई चिर्दै बजारले औसतमा सकारात्मक हुने पहल गरिरहेको छ । सर्वसाधारण लगानीकर्ताहरु पनि ‘पर्ख र हेर’ को रणनीतिअनुसार विस्तारै बजारमा आफ्नो खरिदबिक्री सम्बन्धी निर्णय लिइरहेका छन् । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने दिन नजिकिंदैछ । त्यसैगरी, जेठ १५ मा बजेट पनि आउनेछ ।

 

यही परिदृश्यहरुका आधारमा बजार विस्तारै अघि बढिरहेको छ । पछिल्ला दिनहरुमा नेप्सेले खास तल झर्न त मानेको छैन । सकेसम्म विस्तारै भए पनि समग्रमा माथितिरै जान खोजेको विश्लेषणहरु भइरहेका छन् । अहिलेको अवस्थामा नेप्सेको गतिलाई विश्लेषकहरुले स्वभाविक मानेका छन् । सेयर बजारको चाल र प्रवृत्ति सधैं एउटै हुँदैन । यसले विभिन्न चरणमा फरक–फरक किसिमका प्रवृत्तिहरु देखाउने गर्दछ । यसर्थ, दीर्घकालीन लगानीकर्तालाई यी चरण र प्रवृत्तिबाट खासै नकारात्मक असर गर्दैन । तर अल्पकालीन लगानीकर्ताले भने तत्कालको चाल र गति अध्ययन गरेरै खरिदबिक्रीको निर्णय लिने गर्छन् । लगानीकर्ताले कम्पनीको खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, मूल्य, आम्दानी अनुपात र व्यवसाय विस्तारको सम्भावना लगायतलाई ख्याल गर्दै लगानी सम्बन्धी निर्णय लिनु उचित हुने अनुभवीहरुको सुझाव रहने गरेको छ ।

 

साथै, बजार कहिलेकाँही लामो समयसम्म नबढ्ने वा घट्नसमेत सक्ने भएकाले सोही अनुसार तयारी गर्न सक्नुपर्छ । जोखिम बहन क्षमता र धैर्ययता सेयर बजारका अरु महत्वपूर्ण पक्ष हुन् । नेप्से सूचक १०.१३ अंकले बढेर २६८४.०१ विन्दुमा आइपुगेको छ । २१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएका छन् । १३ मध्ये ९ समूहका सूचक वृद्धि भएका छन् । १३ कम्पनीको भाउ ९% भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म बढेको छ । ४९ करोड रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । दोस्रो र तेस्रोमा क्रमशः नेसनल हाइड्रोपावर र अरुण काबेली परेका छन् ।