२०७८ असार ६ , आइतवार

कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउनु, साना लगानीकर्ताको रकम तत्कालै दिनु : बोर्ड

सुनाखरी न्युज/ काठमाडौं – नेपाल धितोपत्र बोर्डले इजाजत पत्र पाएका धितोपत्र दलाल(ब्राेकर), मर्चेण्ट बैंकर र सम्बद्ध सबै पक्षहरुलाई कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नखटाउन आग्रह गरेको छ । अनलाइन मार्फत सम्पूर्ण धितोपत्र कारोबार गर्न सकिने भएकोले सिष्टम सञ्चालन गर्न बाहेका सबैलाई वर्क फ्रम होमको व्यवस्था मिलाउन सम्बन्धित पक्षहरुलाई बोर्डले अनुरोध गरेको हो ।

 

बाेर्डले बिहीबार एक सूचना जारी गर्दै सेयर बजारमा सम्पूर्ण सराेकारवालाहरूलाई साे आग्रह गरेको छ । त्यस्तै, नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरेका आदेश अनुसारका थप स्वास्थ्य सुरक्षा मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण रुपमा पालना गर्न पनि बोर्डले निर्देशन दिएको छ । बाेर्डले सिस्टम सर्पोट र सूचना प्रविधी सम्बन्धी काम वर्क फ्रम होम मार्फत सञ्चालन गराउन आग्रह गरेको छ । त्यस्तै, गुनासा तथा समस्या समाधानको लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने र थप मोबाइल नम्बरहरु उपलब्ध गराउनु पर्ने छ ।

 

ससाना लगानीकताहरुलाई दैनिक घर खर्च वा औषधी उपचारको लागि सेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्न बोर्डले आग्रह गरेको छ । त्यसैगरी, जति सक्दो संक्रमणको पहिचान हुन्छ, त्यति चाडो उपचारमा सहज हुने हुँदा कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएमा तत्काल आईसोलेट हुने व्यवस्था गरी परीक्षण गराउन बाेर्डले आग्रह गरेको छ ।