२०७८ असार २ , बुधवार

आगामी ३ हप्ता अत्यन्तै कठिन अवस्था छ : डा. रविन्द्र पाण्डे

डा. रविन्द्र पाण्डे/ काठमाडौँ –

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनुका साथै अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएको हुँदा यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका हुन् ।

 

यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीवनको तुलनामा दुःख सानो हो । सकभर खाद्यान्न दैनिक किन्ने नगरौं । घर बाहिर निस्किनै परे डबल मास्क लगाएर, ६ फिटभन्दा धेरै दुरी कायम गरेर, हात साबुनपानी / स्यानिटाइजरले सफा गरेर सुरक्षित बनौं ।’डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन सुझाव दिएका छन् ।

 

उनले भेटघाट बन्द गर्ने तथा स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सवैमा अपिल गरेका छन् । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गरेका छन् । कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन उनले आग्रह गरेका छन् ।