२०७८ बैशाख ३१ , शुक्रवार

भारतमा लगातार तेस्रो दिन कोरोना संक्रमितको संख्या घट्यो

3

सुनाखरी न्युज/  एजेन्सी – भारतमा कोरोना संक्रमतिको संख्या लगातार तेस्रो दिन सामान्य दरले घटेको छ । पछिल्लो २४ घण्टामा भारतभर ३ लाख ५७ हजार २२९ नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्यमन्त्रालयका अनुसार सो अवधिमा ३ हजार ४४९ जना संक्रमितको मृत्यु भएको छ ।

 

त्यस्तै कोरोना भाइरसबाट निको हुनेको संख्या पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २८९ रहेको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर झण्डै ३५ लाख पुगेको छ । पछिल्लो आंकडासँगै भारतमा हालसम्म २ करोड २ लाख ८२ हजार ८३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कुल २ लाख २२ हजार ४०८ जनाको मृत्यु भएको छ । चारदिन अघि भारतमा दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो । गत शुक्रबार (अप्रिल ३०) भारतमा हालसम्मकै उच्च अर्थात् ४ लाख २ हजार ११० जना नयाँ संक्रमित थपिएका थिए ।

 

तर त्यसपछिका दिनमा भने दैनिक संक्रमितको संख्या सामान्य रुपले घटिरहेको छ । भारतीय समाचार माध्यम अनुसार राजधानी दिल्लीमा पछिल्लो २४ घण्टा हालसम्मकै धेरै कोरोना संक्रमितको ज्यान गएको छ । सो अवधिमा दिल्लीमा ४४८ जनाको ज्यान गएको छ । तर दैनिक संक्रमितको दर भने त्यहाँ पनि घटेको छ । त्यस्तै सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा पनि दैनिक संक्रमितको दर घटेको छ तर संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने अझै पनि उच्च छ । यता उत्तर प्रदेशमा समेत कोरोनाको ग्राफ घटिरहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजारभन्दा कम दैनिक संक्रमित थपिएका छन् भने २८८ जनाको मृत्यु भएको छ ।
एजेन्सी