२०७८ जेठ ३० , आइतवार

सुन जस्तो देखिने पहेँलो धातु सहित ५ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रबाट १ किलो ४ सय ७ ग्राम ९ सय १० मिलिग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातु सहित ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा प्युठान स्थायी वतन भएका यमलाल खनाल, गुल्मी स्थायी वतन भएका जनक खड्का, नुवाकोट ठेगाना भएका सुमित तामाङ तथा धन बहादुर तामाङ र नवलपरासी ठेगाना भएका राजु विश्वकर्मा रहेका छन् । पक्राउ मध्ये एयर अरेवियाको उडानद्वारा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६ सय ९८ ग्राम ९ सय १० मिलिग्राम बराबरको सुन जस्तो देखिने बिस्कुट आकारको पहेँलो धातु २ थान र २ थान बाला बरामद भएको छ । साथै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धन बहादुर तथा नेपाल एयरलाइन्सद्वारा आएका राजुको साथबाट जम्मा ७ सय ९ ग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातु बरामद भएको छ ।

 

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा लगेजभित्र स्पिकरमा फल्स बटम बनाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।