२०७८ जेठ ३० , आइतवार

सावधानी अपनाउँदै बैकिङ सेवा दिन विकास बैंक प्रतिवद्ध

सुनाखरी न्युज/ काठमाडौं – विकास बैंकहरुको छाता संगठन डेभलमेन्ट बैंकर्स एशोसिएसनले कोरोना महामारी न्यूनीकरण गर्न १२ बुँदे निर्देशन पालना गर्ने प्रतिवद्धा व्यक्त गरेको छ ।

 

केन्द्रीय बैंकले दिएको निर्देशन अनुसार विकास बैंकले १२ बुँदे निर्देशन पालना गर्ने र सम्बन्धिन बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन कडाइका साथ पालना गर्न पनि आग्रह गरेको छ । बैकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेलमार्फत जारी भएको उक्त निर्देशन अनुसार सामाजिक दूरी पालना, सजगता अपनाउनेदेखि डिजिटल बैंकिङलाई जोड दिने पनि उल्लेख छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर विश्वव्यापी रूपमा फैलिरहेको छ । उक्त भाइरस अहिले नेपालको काठमाडौं उपत्यका लगायत धेरै जिल्लामा तीब्र रूपमा फैलिइरहेको छ । त्यसैले उक्त भाइरसलाई नियन्त्रण गर्नका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले निषेधात्मक आदेश जारी गरेका छन् ।

 

यस विषम परिस्थितिले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्न चुनौती थपेको छ । तथापि, उक्त निषेधात्मक आदेशको अनुपालना गर्दै र आवश्यक सजगता अपनाउदै आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नका लागि यस एशोसिएसनसँग सम्बद्ध सदस्य बैंकहरू हरसम्भव प्रयासरत रहेका छन् । यसै बीच,नेपाल राष्ट्र बैंकको १९ वैशाख २०७८ को पत्रबाट विशेष निर्देशन समेत दिएको छ । उक्त निर्देशन समेतलाई मध्ये नजर गर्दै एशोसिएसनका सदस्य विकास बैंकहरूले आफ्ना ग्राहकको सेवा प्रदान गर्नका लागि एशोसिएसनको कार्य समितिले निम्नानुसारको व्यवस्था मिलाउने निर्णय गरेको छः

– नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अक्षरश पालना गर्ने र कर्मचारी तथा ग्राहकहरूको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई कोभिडको असर पर्न नदिनका लागि संभव भए सम्मका उपाएहरूको अवलम्बन गर्ने ।

– निषेधाज्ञा जारी भएका स्थानमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिधि भित्र रही सेवा प्रदान गर्नका लागि प्रत्येक सदस्य बैंकले योजना बनाउने र उक्त योजना सदस्य बैंकहरूबीच समन्वयताका लागि आदान प्रदान गर्ने ।

– सेवा प्रदान गर्न खोलिने शाखा÷बैकल्पिक शाखाहरूको सूची बैंकिङ समय समेत उल्लेख गरी प्रत्येक दिन बैंकको वेभसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउने ।
– स्थानीय प्रशासनले बैंकिङ् सेवा समेत प्रवाह गर्न रोक लगाएको वा बैकल्पिक व्यवस्था गरेको भएमा सोही अनुसार गर्ने ।

– स्थानीय प्रशासन र अन्य निकायहरूसंग आवश्यक समन्वयको व्यवस्था मिलाउने ।

– प्रत्येक सदस्य बैंकले प्रधान कार्यालयमा र शाखाहरूमा ग्राहकबाट लिइने जानकारी प्रदान गर्न र समन्वय गर्नका लागि सम्पर्क व्यक्ति तोकि उक्त सम्पर्क व्यक्तिको फोन नं. र इमेल आईडी बैंकको वेभसाइटमा प्रकाशित गर्ने ।

– सदस्य बैंकले प्रधान कार्यालयमा दुई जना वरिष्ठ पदाधिकारीहरूलाई सम्पर्क व्यक्ति तोकी उक्त पदाधिकारीहरूको नाम, मोवाइल नं.इमेल आईडी आदि एसोसिएसनको सचिवालयलाई उपलब्ध गराउने ।

– एशोसिएसनको माध्यमबाट पहल गरी समाधान गर्नु पर्ने किसिमका कुनै समस्या आएमा अध्यक्ष÷उपाध्यक्ष÷अन्य कार्यसमिति पदाधिकारी वा सचिवालयमा यथाशीघ्र जानकारी गराउने,

– डिजिटल बैंकिङ् प्रडक्टहरूबाट बैंकिङ् कारोवार गर्न ग्राहकहरूलाई उत्प्रेरित गर्ने र उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट सो सम्बन्धी जानकारी ग्राहकलाई गराउने ।

– डिजिटल बैंकिङ प्रडक्टहरूबाट गरिने बैंकिङ कारोबारका प्रकृयाहरू र अपनाउनु पर्ने सावधानीका बारेमा पनि ग्राहकहरूलाई उपलब्ध र संभव भए सम्मका संचार माध्यमबाट जानकारी गराउने ।

– डिजिटल बैंकिङ् प्रडक्टहरूबाट बैंकिङ कारोवार कारोवार गर्दा जोखिम पनि बढ्ने भएकाले जोखिम न्यूनिकरणका उपायहरू अवलम्बन गर्ने । जोखिम न्यूनकरण गर्नका लागि सदस्य बैंकहरूले लागू गरेका उत्तम अभ्यासहरू उपलब्ध गराउन मिल्नेसम्मको सीमा भित्र रही जानकारी गराइ एक अर्कालाई सहयोग गर्ने ।

– अन्य कुराहरूको हकमा नेपाल राष्ट्र बैंकको निर्देशन तथा स्थानीय प्रशासन वा नेपाल सरकारको निर्णय र सम्बन्धित सदस्य बैंकको नीति नियमको परिधि भित्र रहेर कार्य गर्ने ।

ग्राहक महानुभावहरूलाई संभव भए सम्म डिजिटल बैंकिङ् प्रडक्टहरू प्रयोग गरिदिन र उक्त सेवा नलिनु भएको भए वा उक्त सेवामा कुनै समस्या आएमा सम्बन्धित बैंकको वेभसाइटमा उल्लेख गरिएका सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गरि बैंकिङ् सेवा लिइ दिनु हुन यस एशोसिएसन अनुरोध गरेको छ।