२०७८ बैशाख ३१ , शुक्रवार

लकडाउन समाधान होइन यसको विकल्प खोज्नु पर्दछः राजेन्द्र मल्ल

Rajendra Malla

राजेन्द्र मल्ल- अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स ।

नेपाल चेम्बर अफ कमर्सको हालै सम्पन्न ७०औं वार्षिक साधारणसभाले अध्यक्षको जिम्मेवारी उद्यमी राजेन्द्र मल्ललाई दिएकोे छ ।  मल्ल दुई दशकदेखि चेम्बर आन्दोलनमा सक्रिय छन् । उनी निजी क्षेत्रभित्र स्पष्ट वक्ताका रूपमा परिचित छन् । चेम्बर अभियन्ताहरूले व्यावसायिक स्वार्थभन्दा माथि उठेर मुलुकको दिगो आर्थिक विकास तथा समग्र निजी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्नुपर्ने धारणा राख्ने मल्ल व्यावसायिक रूपमा पनि उत्तिकै सफल छन् ।

 

अध्यक्ष मल्लसँग व्यवसायमा दोस्रो लहरको कोरोना प्रभाव, चेम्बरका आगामी कार्ययोजना र वर्तमान राजनीतिक अवस्थालगायत समग्र उद्योग–व्यवसायका मुद्दामा sunakharinews.com  कालागि गरिएको कुराकानीको संक्षेपः

 

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । सर्वसम्मत नेतृत्व चयन सम्भव भयो ?
नेपाल चेम्बर अफ कमर्समा मलगायत सबै ५५ जनाको कार्यसमिति सर्वसम्मत चयन भयो । सबै सरोकारवाला, अग्रज तथा चेम्बरलाई माया गर्ने मनहरूको साझा उपलब्धि हो भन्ने मलाई लाग्छ । करिब डेढ दशक अनवरत रूपमा चेम्बरमा गरेको अथक मेहनतको फल अहिले मैले पाएको हुँ भन्ने लागेको छ । चेम्बरका सम्पूर्ण सदस्य तथा अग्रजहरूको साथ र मायाले गर्दा नै म अध्यक्षमा निर्विरोध चयन हुन सम्भव भएको हो । उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु । मेरो कार्यकालमा मैले अगाडि सारेका योजना पूरा गर्न पनि उहाँहरूले मलाई पूर्ण सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

यसले भोलिका दिनमा निजी क्षेत्रबीच घनीभूत सहकार्य हुन्छ भन्ने संकेत गरेको छ भन्न मिल्छ ?
पक्कै पनि । मुलुकको आर्थिक विकास र प्रगतिका लागि आमव्यवसायी निजी क्षेत्रको प्रतिनिधित्व गर्दै तीनै संस्था एक भएर जानेछौं भन्ने सन्देश प्रवाह भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले यसरी स्वागत गर्नु निजी क्षेत्र एक हो, छ र रहिरहनेछ भन्ने गतिलो सन्देश हो । हामीले यसअघि पनि महासंघका पदाधिकारीलाई स्वागत गरेका थियौँ । हामी हाम्रो संगठनको स्वरूप र ढाँचाअनुसार व्यावसायिक उत्थान र हकहितको काम निरन्तर गर्दै जानेछौं । सम्पूर्ण रूपमा निजी क्षेत्रको आर्थिक उत्थान र निजी क्षेत्रको विकासका लागि तीनै संस्था एकै स्थानमा छौं भन्ने सहकार्यको सुरुवात हो भन्ने सन्देश हो । निजी क्षेत्र र सरकार एकै रथका दुई पाङ्ग्रा हुन् । सरकार र निजी क्षेत्र मिलेर नै मुलुकको आर्थिक विकास सम्भव छ । सरकारले पनि निजी क्षेत्रमाथि सधैँ सदाशयता राख्नुपर्छ भने निजी क्षेत्रले पनि सरकारलाई कर राजस्वमार्फत सेवा र आर्थिक टेवा दुवै दिनुपर्छ । सरकारले सधैं निजी क्षेत्रलाई साथै लिएर जानुपर्छ । व्यवसायीको हकहित र सरकारसँग सहकार्य गरी अगाडि बढ्नका लागि चेम्बरले सधै पुल (सेतु) का रूपमा रहेर काम गर्नेछ ।

चेम्बरको नेतृत्वमा तपाईं आइरहेका बेला फेरि कोरोनाको संक्रमण बढ्न थालेको छ । अघिल्लो वर्षको कोरोना र लकडाउनले व्यवसाय तङ्ग्रिन नपाएको बेला फेरि शिथिल बन्ने स्थिति देखिएको छ । अब तपाईंको नेतृत्वले यो स्थितिको सामना कसरी गर्छ ?

कोभिड–१९ ले विश्वभर नै प्रभाव पारेको अवस्था छ । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा अझ बढी प्रभाव पारेको छ । दोस्रो लहरको कोभिड पनि प्रवेश गरेकाले अझ बढी प्रभाव पार्ने देखिन्छ । यसले गर्दा सरकार र विश्व स्वास्थ्य संगठनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको मापदण्डको पालना गर्दै अनुशासित भएर उद्योग–व्यवसाय सञ्चालन गर्नुपर्छ । गत वर्ष सरकारले लकडाउन गर्दा अर्थतन्त्र नराम्रोसँग प्रभावित बन्न पुग्यो । त्यसैले गर्दा थलिएको अर्थतन्त्र विस्तारै तङ्ग्रँदै गर्दा फेरि सरकारले लकडाउन गर्दा अझ विकराल समस्या आउने भएकाले सरकारले लकडाउन गर्नु हुँदैन । कोभिडको दोस्रो लहरले अझ समस्या आउने देखिन्छ । त्यसैले गर्दा स्वास्थ्य मापदण्ड अपनाएर काम–कारबाही गर्दै लानुपर्छ ।

के लकडाउन यो समस्याको समाधान हो ?
लकडाउनले न त रोगको नियन्त्रण गर्छ न भोकको, लकडाउन भएमा रोगभन्दा भोकले मर्ने सम्भावना बढेर जानेछ । विगतको अभ्यासलाई हेर्दा पनि आर्थिक चलायमान नहुँदा आमजनमानसको दैनिकीमा ठूलो समस्या ल्याउँछ । त्यसैले हामीले स्वास्थ्यका सबै मापदण्ड पालना गरी व्यवसायी पनि अनुशासित भएर व्यापार–व्यवसाय गर्नुपर्छ । समाजले पनि स्वास्थ्य मापदण्ड अपनाएर जीवनयापन चलायमान बनाउनुपर्छ ।

अहिलेको राजनीतिक अवस्थालाई चेम्बरले कसरी हेरिरहेको छ ?

नेपालको अस्थिर राजनीतिबाट निजी क्षेत्र जानकार छ र यसबाट अभ्यस्त भइसकेको अवस्था छ । हामी निजी क्षेत्रले सरकारलाई तिर्नुपर्ने कर राजस्व नियमित तिर्दै आएका छौं, तिरिरहनेछौं । हामी निजी क्षेत्र र आम जनमानस स्थिर सरकार नै चाहन्छ । स्थिर सरकार भएमा देशमा उद्योग–व्यवसायमा लगानी बढेर जाने निजी क्षेत्रले सहज व्यवसाय गर्ने वातावरण तयार हुन्छ । देशको आर्थिक विकास हुनका लागि राजनीतिक स्थायित्व आवश्यक हुन्छ । रानीतिक पार्टीले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक हुन सकेको छैन । मात्र नेताजीहरूको जुँगाको लडाइँमात्र हो जस्तो मलाई लाग्छ । हामी सबैले मभन्दा पनि हामी हौं, हामीले गर्नुपर्छ भन्ने भावनाको विकास गर्न सकेको खण्डमा मुलुकले चाँडै आर्थिक उन्नति–प्रगति गर्छ भन्ने मैले ठानेको छु ।

नेपाल चेम्बरको नेतृत्वमा तपाईं आइसकेपछि तपाईंका एजेन्डाहरू केके हुन् ?
मभन्दा पनि हामी भन्ने भावनाको विकास गर्नुपर्छ । चेम्बरका सबै अग्रजहरू जिल्ला, नगर, गाउँपालिकाको सल्लाह–सुझावलाई लिएर काम गर्नुपर्नेछ । यसअघिका कार्यसमितिले गर्दै आएको राम्रो कामलाई निरन्तरता दिनेछु । हामीले नवीनतम सोचका साथ नयाँ अवधारणाका काम गर्ने सोच बनाएका छौं । आयातभन्दा बढी मेरो कार्यकालमा निर्यातलाई जोड दिने खालका कार्यक्रम अगाडि बढाउनेछु । उद्योग स्थापनाका लागि सरकार निजी क्षेत्रबीच सहकार्य गर्दै व्यवसायमा प्रोत्साहन गर्नेछौं । आर्थिक उन्नतिका साथै उपत्यकामा बढ्दै गएको वायु प्रदूषणलाई नियन्त्रण गर्दै विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिने खालका कार्यक्रमलाई प्रोत्साहन गर्नेछु । मुलुकलाई आत्मनिर्भर बनाउनका लागि के–कस्ता कामहरू गर्न सकिन्छ, चेम्बरको एक समितिले अध्ययन गरिरहेको छ । मुलुकमा उत्पादन भएका सामग्रीलाई कसरी निर्यात गर्न सकिन्छ, त्यसमा चेम्बरले आगामी दिनमा काम गर्नेछ । यहाँको जडिबुटी तथा विद्युत् निर्यात गर्नका लागि मेरो टिमले काम गर्नेछ । विद्युतीय यन्त्र तथा उपकरणको प्रयोगमा जोड दिनुपर्छ यसमा सरकारले पनि सहजीकरण गर्न सहयोग गर्नुपर्छ ।