२०७८ बैशाख ३१ , शुक्रवार

प्रहरी महानिरीक्षक थापा क्षेत्रीद्वारा निर्देशन सम्बोधन सम्पन्न

1

सुनाखरी न्युज/ पोखरा – महिला, बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रहरी उच्च संवेदनशिल रहि पिडितलाई प्रहरी सेवाको सकरात्मक सेवाभाव महशुस हुने गरी कार्यसम्पादन गर्न गराउन संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले निर्देशन दिनुभयो ।

 

नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेशद्वारा आयोजना गरिएको २ दिने संयुक्त सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरा आउनुभएका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरुलाई विशेष सम्बोधनका क्रममा यस्तो बताउनुभएको हो ।संगठन प्रमुख प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध अनुसन्धान तथा रोकथाम, शान्ति सुरक्षाको अवस्था, मुख्य सुरक्षा चुनौती तथा समस्या लगायतका बिषयमा निर्देशन सम्बोधन गर्नुभएको हो ।

 

निर्देशन कै क्रममा उहाँले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा कार्य-योजनाहरुको कार्यान्वयन गरी नतिजामुखी कार्यसम्पादन तर्फ उन्मुख हुनुपर्ने बताउँदै सांगठनिक मुल्य मान्यताहरुको विपरित रहि आफ्नो निजी स्वार्थ सिद्ध गर्न कुनैपनि आर्थिक अपार्दशिताका गतिविधिहरु नगर्न समेत निर्देशन दिनुभयो । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले समग्र प्रदेश अन्तर्गतको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान लगायतका विषयमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई जानकारी गराउनु भएको थियो ।